बजेटको सुनिश्चितता भए मोतिपूर औद्योगिक क्षेत्र पनि शिलान्यास हुन्छ : अध्यक्ष बस्नेत

1.3K

बजेटको सुनिश्चितता भए मोतिपूर औद्योगिक क्षेत्र पनि शिलान्यास हुन्छ : अध्यक्ष बस्नेत

औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्र सहित निकट भविश्यमै मुलुकभरका सबै औद्योगिक क्षेत्र शिलान्यास गरिने बताउनु भएको छ । सरकारले औद्योगिक बिकासको लागि औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिएको बताउँदै उहाँले घोषित देशभरका सबै औद्योगिक क्षेत्र शिलान्यास गरिने बताउनु भएको हो ।
रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा रकमको सुनिश्चितता नभएकै कारण शिलान्यासको काम रोकिएको बताउँदै रकम सुनिश्चितता भएसंगै शिलान्यास गरिने उल्लेख गर्नुभयो । त्यसको लागि अर्थमन्त्रीले आफूलाई आश्वास दिएकोले अव औद्योगिक क्षेत्र शिलान्याससंगै निर्माणको काम अंगाडी बढाईने उहाँले जानकारी गराउनु भयो ।
सुक्रबार साँझ आयोजित बुटवल औद्योगिक क्षेत्र उद्योग संघको वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले औद्योगिक क्षेत्रको शिलान्यास गरेसंगै निर्माणको काम पनि तत्कालै सुरु हुने र ५ वर्षमा निर्माण सम्पन्न गरिने दावी गर्नुभयो ।
अध्यक्ष बस्नेतले आउने वर्षको बजेटमा व्यबस्था गरेर बुटवल औद्योगिक क्षेत्रलाई सम्पूर्ण पूर्वाधार सहितको आधुनिक औद्योगिक क्षेत्र बनाउने आश्वासन दिनुभयो । मोतिपूर औद्योगिक क्षेत्रमा ठूला र विदेशी उद्योग ल्याउने भएकाले पनि उनीहरुलाई देखाउनको लागि पनि बुटवल औद्योगिक क्षेत्रलाई सुविधा सम्पन्न गर्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले कोभिड–१९ महामारीको समयमा गरिएको लकडाउनको समयमा भाडा छुट गर्ने निर्णय भईसकेको र केही कुरा अड्कीएकोले अर्को बोर्ड बैठक बसेपछि त्यसको समेत समाधान हुने बताउनु भयो । त्यस्तै बिद्युत डिमान्ड चार्जको पनि समस्या समाधान हुने उद्योगी व्यबसायीलाई उहाँले आश्वास दिनुभयो ।

त्यस अवसरमा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, संघका पूर्व अध्यक्ष तिलप्रसाद भट्टराई, बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी लगायतले मोतिपूर औद्योगिक क्षेत्र स्थापनाको लागि यहाँका व्यबसायिक संघसंस्थाहरुले सुरुदेखि नै पहल पैरवी गर्दै आएको र त्यसमा सरकारको तर्फबाट खासै चासो नदेखाएको आरोप लगाउनु भएको थियो । त्यस्तैगरी उहाँहरुले मुलुक फेरी पनि द्वन्द्वको चपेटामा परेकोले औद्योगिक क्षेत्र निर्माणको कामले गति लिनेमा शंका व्यक्त गर्नुभएको थियो ।