स्थानीय पूर्वाधार बिकासको लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा शुक्रबार बुटवलमा संवाद कार्यक्रम गरिएको छ । नेपाल युवा उद्यमी मञ्च रुपन्देही (एन.वाई.ई.एफ.), सुत्र शोलुसन्स, सिभिक एक्सन टिम र एकाउन्टीबिलिटी ल्यावको सहकार्यमा सार्वजनिक निजी संवाद कार्यक्रम गरिएको हो ।
सार्वजनिक निजी साझेदारीका माध्यमबाट बुटवलका जल्दावल्दा यावत समस्या समाधान गरि दीगो बिकासको आधार बनाउन सकिने र त्यसको लागि प्रयाप्त सम्भावना देखिएकोले संवादको थालनी गरिएको नेपाल युवा उद्यमी मञ्च रुपन्पन्देहीका अध्यक्ष उमेश अमात्यले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले निजी क्षेत्रले चाहेजस्तै गरी सुरक्षित लगानीको वातावरण बनाउन केही भएपनि नगरपालिकाले प्रयास गरेको बताउनु भयो । उहाँले नगरपालिका मात्रै नभएर प्रदेश र संघीय सरकारका निती नियममा समेत बाधिनुपर्ने भएकाले सोंचेजस्तो सहज भने नभएको उल्लेख गर्नुभयो । निजी क्षेत्रका लगानी कर्ता, बेरोजगार र यसका अन्य स्टेक होल्डरहरु समेत सबैको लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बुटवल नगरपालिकाका निमित्त कार्यकारी प्रमुख मित्रमणी खनालले सार्वजनिक निजी साझेदारी कार्यक्रमको अवधारणा अनुसार नीति समेत तयार गरिएको र सोही अनुसार कतिपय परियोजनाहरु पुरा भई हस्तान्तरण भईसकेको, कतिपय परियोजनाहरु सञ्चालनकै क्रममा रहेको र कतिपय परियोजनाहरु निर्माणको चरणमै रहेको जानकारी गराउनु भयो ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमको बारेमा अवधारणा प्रस्तुत गर्दै सुत्र शोलुसन्सका राजु शर्माले सार्वजनिक नीजि साझेदारी कार्यक्रम सञ्चालनको लागि दुबै पक्षमा विश्वासको वातावरण बन्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले ६ महिनाको अध्ययन पछि स्थानीय तह र निजी क्षेत्र विच संवादको थालनी गरिएको बताउँदै यो मोडेलमा दुई पक्षलाई कसरी जोड्न सकिन्छ ?, त्यसैको लागि संवाद कार्यक्रम गरिएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले प्राथमिकताको आधारण्मा आवश्यकताको पहिचान गरेर नगरपालिकाले ठोस योजना सहित प्रस्तुत हुने हो भने त्यसमा नीजि क्षेत्र साथ दिन तयार रहेको बताउनु भयो । उहाँले बुटवलको अहिलेको प्रमुख समस्या पार्किङ्को रहेको औंल्याउँदै नगरपालिकाले जग्गा व्यबस्थापन गर्ने हो भने सार्वजनिक नीजि साझेदारी मोडलमा बुटवल उद्योग बाणिज्य संघ साझेदारी गर्न तयार रहेको जानकारी गराउनु भयो ।
त्यस्तै बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा सहकारी अभियान्ता बसन्तप्रसाद ढकालले सरकारको तीन खम्बे अर्थनीतिमा सहकारीलाई एउटा खम्बाको रुपमा लिएको स्मरण गराउँदै सार्वजनिक निजी साझेदारी कार्यक्रममा सहकारीलाई समेत जोड्न सकिने भनाई राख्नुभयो ।
रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीले बुटवलको सुन्दरतालाई बचाउने हो भने वडा वडामा सम्भाव्यता अध्ययन गरेर त्यो किसिमको योजना बनाउनु पर्ने र ती योजनामा सार्वजनिक निजी साझेदारी मोडेल अवलम्बन गर्न सकिने भनाई राख्नुभयो । त्यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले सरकारले लगानी मैत्री वातावरण नबनाउँदासम्म र लगानी आकर्षण गर्नेगरी नीतिगत व्यबस्था नगर्दासम्म यस्ता कुनैपनि कार्यक्रम प्रभावकारी हुन नसक्ने भनाई राख्नुभयो ।
कार्यक्रममा सहभागिहरु लोकराज पोखरेल, गुणखर भण्डारी, दिपक ढकाल, विष्णु पौड्याल लगायतले कार्यक्रम राम्रो भएपनि अव सतहमा भन्दा पनि विषयको गहिराईमा गएर छलफल हुनुपर्ने र निजी क्षेत्रले सहकार्यको लागि हात फैलाईरहँदा नगरपालिकाले प्रष्ट खाका सहित प्रस्तुत हुन सुझाव दिएका थिए । त्यस्तै सुत्र शोलुसन्सका निर्देशक नारायण अधिकारीले नगरपालिका र नीजि क्षेत्रलाई जोड्ने प्रयास मात्रै भएको र फेरी ६ महिनामा हुने यस्तै कार्यक्रममा यस बिचमा के भयो भन्ने विषयमा समिक्षा गरिने बताउनु भयो ।