बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्ष पदको लागि बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर उहाँले आगामी कार्यकालको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
बुटवल उद्योग बाणिज्य संघको २४ औं अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । पत्रकार सम्मेलनमा उहाँले संघलाई थप गतिशिल बनाउँदै व्यबसायिक सुरक्षा र व्यबसायमैत्री वातावरण निर्माणको लागि आफ्नो दावेदारी रहेको बताउनु भयो । उहाँले त्यसको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसंग पहल पैरवी र दवाव सिर्जना गर्न आफ्नो नेतृत्वमा बन्ने कार्यसमिति सफल हुने दावी समेत गर्नुभयो ।
समुह बिना एकल उम्मेदवारी घोषणा गर्नुभएका अर्यालले बुटवलको सर्भिस लेनलाई व्यबसाय मैत्री बनाउन पहल गर्ने, योगिकुटीदेखि सब्जिमण्डिसम्मको वाईपास सडकलाई चाडो सम्पन्न गर्न दवाव दिने, बजार क्षेत्रको अव्यबस्थित पार्किङ् समस्या समाधानको लागि पहल गर्ने, राजश्व अनुसन्धान, आन्तरिक राजश्व कार्यालयबाट प्रवाह हुने सेवालाई व्यबसायमैत्री बनाउने लगायतका प्रतिवद्धता समेत प्रस्तुत गर्नुभएको छ ।