बुटवल । बुटवलमा नौ दिनको फरकमा दुईवटा केबलकारको शिलान्यास भएका छन् ।आइतबार अर्को केवलकारको शिलान्यास भएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकारको शिलान्यास गर्नुभएको थियो । आइतबार अर्थमन्त्री विष्णु पौडेलले अर्को केवलकारको शिलान्यास गर्नुभएको हो ।
बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्नेगरी सिद्धार्थ केवलकार प्रालिले आगामी १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम थालेको हो । केवलकार शिलान्यास गर्दै अर्थमन्त्री विष्णु पौडेलले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रहगर्दै यसका लागि सरकारले आवश्यक सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले यो केवलकारको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकासमा मात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेने बताउनुभयो । उहाँले विकास निर्माणले फड्को मारिरहेको रुपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गर्दै जिल्लाले विकासको रोल मोडलको भूमिका खेलेको बताउनुभयो ।
विकासको महत्वपूर्ण पाठशाला रुपन्देही हो भन्ने सन्देश यहाँ सञ्चालित ठूला ठूला आयोजनाहरुले दिएको पनि उहाँले बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही रहेको चर्चा गर्दै उहाँले यहाँबाट अरु जिल्लाले विकासको पाठ सिक्ने पनि बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालन पछि भौतिक पूर्वाधारको विकास सँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगल, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, डिआर घिमिरे लगायतले बोल्नुभएको थियो । बिगत आठ वर्षदेखि केवलकार निर्माण गर्ने अभियानले अवभने मूर्तरुप लिएको प्रालिकाअध्यक्ष राजेन्द्र सिंह गुरुंगले बताउनुभयो । केवलकार निर्माण सम्पन्न गर्न करिव ८० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।
केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिज मा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको लुम्बिनी केवलकार प्रालिले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।