आन्तरिक उत्पादन अपुग भएमात्रै आयात गर्ने नीति बनाउन उद्योगी व्यबसायीहरुले सरकारलाई सुझाव दिएका छन् । मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न र उच्चदरमा भईरहेको पुँजी पलायन रोक्नको लागि पनि यो नीतिले राज्यलाई फाईदा हुने उनीहरुको भनाई छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले शुक्रबार बुटवलमा आयोजना गरेको ‘पूर्व बजेटकालिन अन्तरक्रिया कार्यक्रम’मा सुझाव राख्दै उद्योगी व्यबसायीहरुले आयात प्रतिस्थापनको लागि नेपाली उद्योग र आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिन सुझाव दिएका हुन् ।
नेपालमै उत्पादन हुने तयारी बस्तु बाहिरबाट आयात गर्दा आफूहरुको उत्पादन खपत नभएको बताउँदै त्यसतर्फ ध्यान दिन उनीहरुको बिशेष आग्रह हो । कार्यक्रममा उद्योगी व्यबसायीहरुले करको दर अत्यन्तै बढेको बताउँदै करको दर भन्दा पनि दायरा फराकिलो गराउन सुझाएका छन् । कार्यक्रममा सुझाव राख्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले २ प्रतिशत प्रिमियमले कृषिमा लगानी आकर्षण गरेकोले औद्योगिक बिकासको लागि पनि उद्योगमा हुने लगानीमा पनि २ प्रतिशत प्रिमियम बनाउन गर्न आग्रह गर्नुभयो ।
उहाँले कोभिड–१९ महामारीका कारण मुलुकको अर्थतन्त्र संगै निजी क्षेत्र पन धाराशायी भएको बताउँदै यसलाई उठाउनको लागि सरकारले बिशेष कार्यक्रम ल्याउन सुझाव दिनुभयो । त्यस्तै उहाँले उद्योगी व्यबसायीले सहज रुपमा पुन कर्जा पाउन नसकेको बताउँदै त्यसलाई सहज बनाउन र अर्को एक वर्ष थप गर्न आग्रह गर्नुभयो । विलाशिताका सामानमा मात्रै लगाउनु पर्ने अन्तशुल्क दैनिक उपभोग्य सामानमा समेत लगाईदा समस्या भएको भन्दै उहाँले दैनिक उपभोग्य सामानमा लगाएको अन्तशुल्क खारेज गर्न माग गर्नुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बैंकले प्रदान गर्ने कर्जाको व्याजदर स्थिर हुनुपर्ने, सहुलियत तथा सुलभ व्याजदरको कर्जा सिमित हुँदा प्रभावित उद्योगी व्यबसायीलाई समेट्न नसकेको लगायतका समस्या राख्दै ती समस्या समाधानको लागि आग्रह गर्नुभयो । त्यस्तैगरी कार्यक्रममा सुझाव राख्दै उद्योगी अजयमान श्रेष्ठले कवाड निकासी पैठारी सम्बन्धि कुनै प्रावधान नहुँदा समस्या भएको बताउनु भयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईशवर गौतमले बैंकमा तरलता बढ्दै गएको औंल्याउँदै त्यसतर्फ चनाखो हुनुपर्ने बताउनु भयो । उहाँले सबैलाई समेट्नेगरी सहुलियत कर्जाको फ्लो गर्नुपर्ने, तयारी बस्तुको आयात भन्दा पनि कच्चा पदार्थको आयातलाई जोड दिनुपर्ने भनाई राख्नुभयो । त्यस्तै उठ्नुपर्ने घरबहाल कर उठ्न नसकेको, वातावरणीय रोयल्टी व्यबस्थापन कसरी गर्न सकिन्छ, त्यसतर्फपनि सोच्न आग्रह गर्नुभयो ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बाबुराम अधिकारीले मुलुकको अर्थ व्यबस्थाको ईञ्जिन निजी क्षेत्र भएको बताउँदै निजी क्षेत्रको प्रवद्र्धन कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो । प्रदेश योजना आयोगका सदस्य विष्णुप्रसाद गौतमले प्रदेशको दायरामा भएपनि मनोरञ्जन कर उठाउन नसकिएको, युट्युवलाई पनि करको दायरामा ल्याउनु पर्ने, ढुंगा गिट्टिलाई औपचारिक च्यानलमा कसरी ल्याउन सकिन्छ लगायतका कुराहरु राख्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकका निर्देशक सुदिप फुयालको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक माधव दंगालले विद्यमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बैंकले सरकारलाई सुझाव दिनको लागि व्यापार क्षेत्र, राजश्व तथा खर्च लगायतका क्षेत्रमा भएका समस्या र समाधानको लागि सुझावहरु संकलन गर्नको लागि कार्यक्रम गरिएको नेपाल राष्ट्र बैंकका उप–निर्देशक गुलाव धवलले जानकारी गराउनु भयो ।