एमाले अध्यक्ष ओली र नेता नेपाल बिच संवाद : दुबै पक्षको आ–आफ्नै अडान

1.3K

एमाले अध्यक्ष ओली र नेता नेपाल बिच संवाद : दुबै पक्षको आ–आफ्नै अडान

नेकपा एमालेको दुई समुह बिच वार्ता भएको छ । वार्तामा सर्बोच्चले एमाले व्यूतिने फैसलापछि भएका दुबै पक्षका एकलौटी निर्णय खारेज गर्नुपर्ने माधवकुमार नेपाल पक्षको माग छ । तर अध्यक्ष ओली पक्ष भने उक्त मागमा सहमत छैन ।
पार्टी एकता गरेका एमाले र माओवादी केन्द्र व्यूँताउने सर्बोच्चको फैसलापछि एमाले अध्यक्ष ओलीले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक राखेर २८ फागुनमा बिधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने तथा ओली तिर लागेका रामबहादुर थापा समुहका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने लगायतका निर्णय गराउनु भएको थियो ।
एमालेको माधव समुहले यहि चैतको ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि पार्टी विभाजन उन्मुख भएका बेला ओली–नेपाल बिच संवाद भएको हो । पार्टी कार्यालय धुम्बाराहीमा भएको संवादका क्रममा ओली समुहले ४ र ५ गते बोलाईएको राष्ट्रिय कार्यकर्ता भेलालाई रोक्न आग्रह गरेको थियो ।
माधव समुहले भने सर्बोच्चको फैसलाले पार्टीलाई २ जेठ २०७५ को स्थितीमा फर्काईदिएकोले त्यसलाई नै प्रस्थान बिन्दु मान्नुपर्ने बताएको छ । तर ओली समुहले भने २८ फागुनको निर्णयलाई थप सुधार गर्न सुधार गर्न तयार भएपनि त्यसलाई खारेज गर्न नसकिने जवाफ फर्काएको छ ।
नेपाल समुहले दुबै पक्षले आफूखुसी गरेका सबै गतिबिधि खारेज गर्ने भए त्यसमा आफूहरु तयार रहेको प्रष्ट पारेको छ । दुबै पक्षको आ–आफ्नै अडानका बिच फेरी छलफल गर्ने भन्दै नेताहरु छुट्टिएका छन् । तर छलफलको मिति भने तोकिएको छैन ।
छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भिम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट तथा नेपाहरु सुवासचन्द्र नेम्वाङ्, सुरेन्द्र पाण्डे रघुजी पन्त सहभागि थिए ।