नेपालसंग खुल्ला सिमाना रहेको छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमणको दर बढेपछि भारतसंग सिमा जोडिएको रुपन्देही जिल्लामा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमणको दर बढेको र नेपालमा होली पर्व नजिकिँदै गर्दा सूचना जारी गरेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा छिमेकी मुलुक भारतमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण र मृत्युदर पनि बढेको तथा सिमानाकामा आवतजावत पनि बढेको उल्लेख गर्दै संक्रमण बढ्न नदिनको लागि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
बिशेष गरेर नजिकै आएको होली पर्वको अवसरमा भिडभाड नगर्न, मास्क तथा सेनिटाईजरको प्रयोग गर्न र सामाजिक दुरी समेत कायम गर्न आग्रह गरिएको हो । यहि चैतको १५ गते पहाडमा र १६ गते होली तराईका जिल्लामा होली पर्व मनाईदैं छ । त्यस्तैगरी स्वास्थ्य मन्त्रालयले समेत बिज्ञप्ती जारी गरेर भिडभाड नगर्न तथा सतर्कता अपनाउन अपिल गरेको थियो ।