सरकार परिवर्तनको खेलसंगै लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

555

सरकार परिवर्तनको खेलसंगै लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनीमा सरकार परिवर्तनको खेलसुरु भएसंगै प्रदेश सरकारले प्रदेशको हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा मंगलबार (भोली) राती १२ बजेपछि अधिवेशन अन्त्य हुने मन्त्रीपरिषदको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारमा प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउनको लागि हस्ताक्षर संकलन गरेका कारण प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो । लुम्बिनी प्रदेशमा सरकार परिवर्तन गर्नको लागि एमाले बाहेकका माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले हस्ताक्षर संकलन गरेका थिए ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली काँग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । मुख्यमन्त्रीको पद जोगाउनको लागि ४४ मत आवश्यक छ । यद्यपी एमालेका २ जना माधवकुमार नेपाल समुहका छन् भने माओवादी केन्द्रबाट ओली समुहमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारवाही गरिसकेको जनाएको छ । उक्त कारवाही प्रदेश सभामा समेत जानकारी गराईसकेको छ ।