प्रतिनीधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिद प्रकरणमा जसले कारवाही गर्यो त्यही संस्थाको सदस्य बन्न नैतिक रुपमा नमिल्ने बताउनु भएको छ ।
सार्वजनिक लेखा समितिका सदस्य प्रेम आले मन्त्री भएपछि सरकारले रिक्त सदस्य पदमा सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिद प्रकणमा कारवाही गरेका गोकुल बास्कोटालाई सिफारिस गरेको छ । यद्यपी समितिमा दलीय सहभागिता हुने भएकोले त्यसलाई नकार्न भने नसकिने भनाई राख्नुभयो ।
नेपाली काँग्रेसका नेता समेत रहेका रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनीधि सभामा निर्वाचित सभापति शाहले नेपाल पत्रकार महासंघमा निर्वाचित भएकाहरुको लागि आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले आफैलाई कारवाही गरेको ठाउँमा आउन त्यति उपयुक्त हुदैनथ्यो भन्नुभयो ।
सभापति शाहले नेपाल प्रेस युनियन रुपन्देहीबाट नेपाल पत्रकार महासंघमा निर्वाचित भएका व्यक्तिहरुको सम्मानमा उक्त कार्यक्रम आयोजना गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र संविधानलाई सुदृढीकरण गर्नको लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने र त्यसबाट कत्तिपनि विचलित नहुन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघको हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्यमा भवानीप्रसाद पाण्डे, प्रदेश महासचिवमा बिक्रम खड्का, सदस्यमा मीना ढकाल, रुपन्देही जिल्ला अध्यक्षमा रामराज पाख्रेल, उपाध्यक्षमा विश्वास ढकाल सहित कार्यसमिति सदस्यमा युनियनबाट ५ जना निर्वाचित हुनु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले नेपाल पत्रकार महासंघमा युनियनको नेतृत्वमा टिम बनाउन र बनाएको टिमलाई जिताउनको लागि सबै तहबाट भएको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले महासंघलाई साझा चरित्रको बनाउनको लागि पनि सोही किसिमले भूमिका खेल्न नवनिर्वाचित नतृत्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै प्रदेश महासचिव बिक्रम खड्का, रुपन्देही जिल्ला अध्यक्ष रामराज पाख्रेलले महासंघलाई साझा चरित्रको बनाउने प्रतिवद्धता व्यक्त गर्दै आउने दिनमा महासंघलाई सबैले अपनत्व गर्ने साझा फूलवारी बनाउने बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, सल्लाहकार खिमानन्द भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।