ओलीले गल्ती स्वीकारे अझैपनि बाम गठबन्धनको सरकार सम्भव छ : उपमहासचिव भूसाल

1.1K

ओलीले गल्ती स्वीकारे अझैपनि बाम गठबन्धनको सरकार सम्भव छ : उपमहासचिव भूसाल

नेकपा एमालेका उपमहासचिव तथा पूर्व मन्त्री घनश्याम भूसालले प्रधानमन्त्री केपी ओलीले आफूले बिगारेका कुराहरुलाई सम्बोधन गर्न चाहने हो भने अझैपनि बाम गठबन्धनको सरकार सम्भव रहेको बताउनु भएको छ । तर त्यसको लागि प्रधानमन्त्री ओली सच्चिनु पर्ने उहाँको भनाई छ ।
प्रेस चौतारी नेपालले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफूहरु बिग्रिएको राष्ट्रिय राजनीतिलाई बनाउन लागि परेको दावी गर्नुभयो । एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक व्यबस्था र राजनीतिक स्थिरतालाई संकटमा पारेको बताउँदै आफू सत्तामा टासिईरहने मृगतृष्णा पुरा गर्नकै लागि लोकतान्त्रिक, सांगठानिक र राजनीतिक रुपले पनि बलियो संगठनलाई कमजोर बनाएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो–‘ओली जीले लक्ष्मण रेखा भत्काउँदै हुनुहुन्छ, एमालेको त्यो ईज्ज्त, प्रतिष्ठा र लोकतन्त्रलाई हामीले बचाउन चाहेका छौं ।’ संसद पुनःस्थापना भईसकेपछि ओली टिमकै कोही प्रधानमन्त्री बनेको भएपनि बाम सरकार जोगिने थियो, उहाँले भन्नुभयो । बिग्रिएको राष्ट्रिय राजनीति बनाउनकै लागि आफूहरु २०७५, २ जेठका कमिटिहरु व्यूत्याने बताउँदै उहाँले करिव ७० जिल्लामा त्यो काम सकिएको र बाँकी जिल्ला तथा भौगोलिक (प्रदेश), गैर भौगोलिक कमिटिहरु २ हप्ता भित्रमा व्यूत्याईसक्ने समेत जानकारी गराउनु भयो ।
‘हामीले समानान्तर कमिटि बनाएका छैनौं ।’ उहाँले दावी गर्दै भन्नुभयो–‘ओलीले बनाएका कमिटि समानान्तर कमिटि हो, उहाँले नै संविधानसंग समेत समानान्तर गतिबिधि सञ्चालन गरिरहनु भएको छ ।’