मुख्यमन्त्री पोखरेललाई जसपाको साथ : जसपाका चार सांसद बने मन्त्री

1.3K

मुख्यमन्त्री पोखरेललाई जसपाको साथ : जसपाका चार सांसद बने मन्त्री

लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट बनेका दुई मन्त्री बाहिरिएसंगै जनता समाजवादी पार्टीका चार सांसद मन्त्री बनेका छन् । मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ जना सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागि भएका हुन् ।
माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरिएको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलार्ई मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा मन्त्री नियुक्ति गरि सोमबार नै प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ गराउनु भयो ।
मुख्यमन्त्रीको पद जोगाईदिनको लागि मन्त्री भएका विजय यादवलाई भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तैगरी सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार बिकास मन्त्रालय, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक बिकास मन्त्रालय र सुमन रायमाझीलाई भौतिक पूर्वाधार बिकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।
यस अगाडि भौतिक पूर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी सम्हालेका वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, ग्रामिण तथा सहरी बिकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका लिला गिरीलाई आन्तरिक मामिला, कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको छ भने भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेकी आरती पौडेललाई उद्योग, बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।