‘सरकारको ध्यान कुर्ची बचाउनमै केन्द्रित : जनता अभिभावक बिहिन’

420

‘सरकारको ध्यान कुर्ची बचाउनमै केन्द्रित : जनता अभिभावक बिहिन’

सरकारले आफ्नो कुर्ची बचाउने काममा मात्रै केन्द्रित हुँदा जनता अभिभावक बिहिन बनेको नेपाली काँग्रेसले टिप्पणी गरेको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ले सोमबार एक बिज्ञप्ती जारी गरी जनताप्रतिको दायित्व बिर्सिने सरकारको काम प्रति कुनै हालतमा पनि सह्य नहुने बताएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरस महामारीको फैलिदो क्रमले जनता त्राहिमाम रहेको र अस्पतालमा शैया तथा अक्सिजनको अभावले संक्रमित बिरामीले अकालमा ज्यान गुमाउनु परेको हृदयविदारक दृश्यले आम जनता अत्तालिएको उल्लेख गर्दै उक्त बिज्ञप्तीमा यस्तो विषम परिस्थितीमा जनताका चित्कार र रोदन सुन्ने कोही नहुँदा देशमा सरकार भएको जनताले आभास गर्न नसकेको उल्लेख गरिएको छ ।
रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्सालद्वारा जारी बिज्ञप्तीमा भनिएको छ–‘यस्तो बिषम परिस्थितीमा पनि सरकार जनता बचाउन भन्दा पनि आफ्नो कुर्ची बचाउन व्यस्त छ ।’ कोभिड–१९ बिरुद्धको खोप समेत कमिसनको चक्करमा भित्र्याउन नदिने अपराधिको संरक्षणमा सरकार छ, जनताको उपचारको सवालमा हात उठाएको छ – बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तैगरी खोपको आयात, अस्पतालहरुमा शैयाको बृद्धि, अक्सिजनको जोहो गर्ने कुरामा सरकारको ध्यान गएको छैन, यस्तो विपदको अवस्थामा पनि बिरामीको ज्यान जोगाउन अग्रपंक्तिमा रहेर रातदिन खटिईरहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कुनै काम सरकारले गर्न सकेको छैन – बिज्ञप्तीमा भनिएको छ ।