प्रधानमन्त्रीको षड्यन्त्रमा राष्ट्रपतिको असंवैधानिक कदम : काँग्रेस रुपन्देही

227

प्रधानमन्त्रीको षड्यन्त्रमा राष्ट्रपतिको असंवैधानिक कदम : काँग्रेस रुपन्देही

नेपाली काँग्रेस रुपन्देहीले प्रधानमन्त्री केपि ओलीको षड्यन्त्र र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमका कारण प्रतिनीधि सभा (संसद) विघटन भएको बताएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमको बिरोध गर्दै प्रधानमन्त्रीको षड्यन्त्रमा राष्ट्रपति मतियार बनेर मध्यरातमा संसद विघटन गरेको काँग्रेस रुपन्देहीले आरोप लगाएको हो ।
काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले शनिबार प्रेस विज्ञप्ती प्रकाशित गरि संविधान अनुसार बिश्वासको मत लिन नसक्ने र राजिनामा पनि नदिई प्रधानमन्त्रीले पुनःसोही पदकोलागी दाबी गर्न नमिल्ने औंल्याउनु भएको छ । राष्ट्रपतिले त्यस्तो दावीलाई अस्वीकार गर्नुपर्नेमा बिधि र प्रकृया पुरा गरेर आएको दावीलाई समेत अस्वीकार गर्नु मिलेमतो र षड्यन्त्र भएको ठहर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा राष्ट्रपतिको उक्त कदम असंवैधानिक मात्रै नभएर अनैतिक समेत भएको उल्लेख गर्दै खेद व्यक्त गरिएको छ । प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, दाबी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी मात्र नभई जनता कोरोना महामारिको चपेटामा परिरहेको बेला सरकारको गैरजिम्मेवारीको पराकाष्ठा समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।