निषेधाज्ञालाई कडाइ गर्न गृहसचिवको निर्देशन

1.3K

निषेधाज्ञालाई कडाइ गर्न गृहसचिवको निर्देशन

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेर निषेधाज्ञा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका गृह सचिव महेश्वर न्यौपानेले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई समेत निर्देशन गर्नुभएको छ ।
हालै राष्ट्रपतिले जारी गरेको अध्यादेश अनुसार निषेधाज्ञालाई कडाइ गर्न गृहसचिव न्यौपानेले निर्देशन गर्नुभएको हो । सचिव न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमै बोलाएर अध्यादेश अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत निर्देशन गर्नुभएको हो ।
नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न तथा निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन समेत निर्देशन गर्नुभएको छ । अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजन बाहेक सवारी साधन चलाएमा दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैंया जरिवाना गर्न सक्ने अध्यादेशमा व्यबस्था छ ।
त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा हिड्नेलाई पटकैपिच्छे १ सय रुपैंया र हिडडुलमा समेत रोक लगाएको अवस्थामा हिडडुल गरेमा २ सय रुपैंया जरिवाना गर्न सक्ने अध्यादेशमा व्यबस्था छ । सोही अनुसार निषेधाज्ञा कार्यान्वयन गर्न गृह सचिव न्यौपानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनात्मक परिपत्र गर्नुभएको हो ।