रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार दीर्गनारायण पाण्डेय बिजयी हुनु भएको छ । काँग्रेस सहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डेय निर्वाचित हुनु भएको हो ।
काँग्रेस उम्मेदवार पाण्डेयले प्रदेश सभातर्फबाट ४२ र स्थानीय तहतर्फबाट ११८ जना सहित ४ हजार १४० मतभार प्राप्त गर्नुभएको छ भने सत्तारुढ एमाले उम्मेवार खड्काले प्रदेश सभा तर्फ ४० र स्थानीय तहतर्फ ९४ जना सहित कुल ३ हजार ६१२ मतभार प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खड्का एमालेमा प्रवेश गरेपपछि पार्टीको कारवाहीमा पदमुक्त हुनु भएको थियो । उनै खड्का पदमुक्त भएपछि रिक्त स्थानमा उपचुनाव भएको हो । एमाले प्रवेश गरेका खड्कालाई पार्टीले पुनः उम्मेदवार बनाएको हो । खड्कालाई एमाले सहित जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको समर्थन रहेको थियो ।
एमालेबाट प्रदेश सभा सदस्य पाण्डे भने हालै प्रदेश सभा सदस्यबाट राजीनामा गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । कपिलबस्तु क्षेत्र नं. २ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य पाण्डेयले गत बैशाख १९ गते मुख्यमन्त्री शंकर पोख्रेलले राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदेश सभा सदस्यबाट राजिनामा दिनुभएको थियो ।