राष्ट्रिय गौरवका आयोजनाको नाममा घोडाहा खोलामा अत्यधिक दोहन

580

राष्ट्रिय गौरवका आयोजनाको नाममा घोडाहा खोलामा अत्यधिक दोहन

बिकास गौतम /

राष्ट्रिय गौरवको आयोजनाको नाममा रुपन्देहीको देवदहमा खोलानालामा अत्यधिक दोहन भएको छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दी (निषधाज्ञा)को मौका छोपेर देवदह नगरपालिका वडा नं. ७, ८ र ९ मा पर्ने सरन खोला दाउन्ने खोला र ती दुई खोला मिलेर बनेको घोडाहा खोलामा दोहन बढेको हो ।
निषेधाज्ञाका कारण जिल्लामा चलहपहल कम भएको र जिल्ला प्रशासन तथा स्थानीय सरकारहरुको ध्यान कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएका बेला ठेक्केदारहरुको ध्यान भने खोला नालामा केन्द्रित छ । जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका परियोजनाको नाममा खोलानालामा जथाभावी दोहन भएको स्थानीय बताउँछन् । जथाभावी दोहन गरिएका कारण ती खोलामा जतततै ठूला खाल्डैखाल्डा भएका छन् । नगरपालिकासंग भएको ठेक्का सम्झौता भन्दा विपरित खोला नालामा दोहन भईरहेपनि जिल्ला प्रशासन तथा स्थानीय सरकार भने मौन छन् ।
त्यस बिषयमा देवदह नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरुको टोलीले अनुगमन समेत गरेको छ । अनुगमन टोलीसंग स्थानीयले खोलानालामा मनपरि उत्खनन् भएको र जथाभावी डम्पिङ समेत गरिएको गुनारो गरेका थिए । नगरपालिकाका जनप्रतिनीधि समेतको संलग्नतामा भएको स्थानीयको आरोप छ । रुपन्देहीको देवदह नगरपालिकामा हाल ६ वटा ठेक्का मार्फत ढुङ्गा गिट्टि निकासी भईरहेको छ । ईञ्जिनियर रबि पाण्डेका अनुसार नगरपालिका भित्र हाल चरङ्गे बिचखोला, चरङ्गे ठाडो खोला, रोहिणी खोला, भलुहीखोला, सरन खोला र दाउन्ने खोला गरि ६ वटा खोलामा ठेक्का मार्फत निकासी भईरहेको छ । तर नगरभित्र चालु अवस्थामा रहेका ठेक्कामा प्रभावकारी अनुगमन छैन ।
राष्ट्रिय गौरवका आयोजनाको नाममा जथाभावी डम्पिङ् गरिएको छ । कोरोना महामारीको कारण देखाउँदै नगरपालिकाबाट प्राविधिकहरु नियमन तथा अनुगमनमा हिडेका छैनन् । यद्यपी ईञ्जिनियर पाण्डेले सम्झौता अनुसार उत्खनन् नभएको भए ठेक्का सम्झौता खारेज गरिने बताउनु हुन्छ । राष्ट्रिय गौरवका आयोजनाको लागि हालैमात्रै निकासी खुल्ला गरिएको हो । तर कति उत्खनन् भयो भन्न विवरण भने नगरपालिकाले राखेको छैन ।
नगरपालिकाले छोटो समयमा ठेक्का लगाउने भएका कारण पनि अन्दाधुन्द उत्खनन् हुने कतिपयको बुझाई छ । नदिजन्य पदार्थ उत्खनन् तथा निकासीको कार्यबिधि बनाउँदा नै छिद्रहरु राखिएका कारण खोलानाला तथा नदिमा दोहन बढी हुने गरेको स्थानीय पत्रकार केशव पराजुली बताउनु हुन्छ । उहाँका अनुसार उत्खनन् अगाडी नै कति घनमिटर माल उत्खनन् हुने हो ? र डम्पिङ् गर्ने स्थान समेत एकिन हुनु पर्ने हो । जथाभावी भएको खोलाको दोहनले आगामी दिनमा खोलाको धार नै परिवर्तन गर्ने खतरा बढेको उहाँ बताउनु हुन्छ ।
नगरपालिकाले गत बैशाख २८ गते ठेक्का सम्झौता गरेर निकासी खुल्ला गरेको थियो । कोरोना महामारीका कारण केही समेत काम बन्द भएपनि निषधाज्ञाकै बिचमा खोलानालामा भएको उत्खनन् दोहनको रुपमा परिणत भएको हो । राष्ट्रिय गौरवको आयोजनाको नाममा गरिएको घोडाहा खोलाको उत्खनन् दैनिक ५० बढी टिप्परले ७ ट्रिपसम्म निकासी गरिरहेको स्थानीय बताउँछन् ।