लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत : विपक्षी दलहरुद्वारा सांकेतिक बिरोध

708

लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत : विपक्षी दलहरुद्वारा सांकेतिक बिरोध

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार प्रदेश सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विपक्षी सांसद भने सदनमा अनुपस्थित थिए ।
विपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम र प्रदेश प्रमुखको सांकेतिक बिरोधमा सदनमा अनुपस्थित भएका हुन् । विपक्षी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक एक जना मात्रै सांसदलाई सदनमा उपस्थित गराएका थिए । विपक्षी गठबन्धनका ४१ सांसदमध्ये सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ३ जना मात्रै सहभागि थिए । विपक्षि दलका अरु सांसदहरु प्रदेश सभा परिसरमा उपस्थित भएपनि सभाहलमा भने प्रवेश गरेनन् ।
संविधान मिचेर बनेको सरकार र त्यसलाई साथ दिने प्रदेश प्रमुखको असंवैधानिक कदमका बिरुद्ध सांकेतिक रुपमा बिरोध गरिएको काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले बताउनु भएको छ । गत बैशाख १९ गते अविश्वासको प्रस्ताव छल्नको लागि राजीनामा गरेका मुख्यमन्त्री पोखरेललाई अल्पमतकै बिच त्यसैदिन प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त तथा सपथ गराएर असंवैधानिक काम गरेको बिपक्षी दलहरुको आरोप छ ।
अल्पमतमा रहेका पोखरेलले एकल महुमतको सरकारको मुख्यमन्त्री बनेपछि विवादित जसपाका ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको भएपनि विपक्षी दलहरु पोखरेल नेतृत्वका सरकार संविधानको धारा १६८ को २ को स्वरुपमा रहेकाले एक महिना भित्र विश्वासको मत लिनुपर्ने विपक्षीको दावी छ ।