लुम्बिनीको नीति कार्यक्रम : प्रदेश राजधानी भालुवाङ सहित स्वास्थ्य र कृषिलाई प्राथमिकता

1.7K

लुम्बिनीको नीति कार्यक्रम : प्रदेश राजधानी भालुवाङ सहित स्वास्थ्य र कृषिलाई प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाबाट तोकिएको प्रदेशको राजधानी भालुवाङ सहित स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेश राजधानी तोकिएको दाङको भालुबाङ क्षेत्रलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकास गर्न गुरुयोजना निर्माण, जग्गा व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण लगायतका काम शीघ्र अगाडि बढाउने उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पेस गरेको सकारको नीति तथा कार्यक्रममा कोरोनाबाट प्रदेशका नागरिकलाई गम्भिर असर पर्न नदिन जनस्वास्थ्य, रोजगारी, उत्पादन, आपूर्ति, पोषण लगायतका आर्थिक तथा सामाजिक क्षेत्रमा बिशेष कार्यक्रम सञ्चालन गर्ने उल्ल्ेख गरिएको छ । त्यस्तै लगानीको लागि सहुलियतपूर्ण ऋण, व्याजमा अनुदान, उत्पादनको आधारमा अनुदान, भण्डारण, दुवानी तथा वितरणमा सहयोग लगायतका प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
त्यस्तैगरी जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने, भैरहवाको भिम, अर्घाखाँची, बर्दिया, नवलपरासी जिल्ला अस्पतालको नयाँ भवन निर्माण थालिने, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा समावेश गरी विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने सरकारको नीति कार्यक्रममा छ ।
शिक्षा नीति तर्जुमा गर्नुका साथै आवश्यक मापदण्ड, कार्यबिधि निर्माण गर्ने र प्राबिधिक जनशक्ति उत्पादन गर्न स्वास्थ्य, वन, कृषि, सूचना प्रविधि र इन्जिनियरिङलाई प्राथमिकतामा दिईने उल्लेख गरिएको छ ।