गण्डकीमा काँग्रेस नेता पोखरेल मुख्यमन्त्रीमा नियुक्त : पाँच सदस्यीय मन्त्रीपरिषद गठन

442

गण्डकीमा काँग्रेस नेता पोखरेल मुख्यमन्त्रीमा नियुक्त : पाँच सदस्यीय मन्त्रीपरिषद गठन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल) नियुक्त हुनु भएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार काँग्रेस नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिको लागि आधार पेस गर्न आह्वान गर्नुभएको थियो । त्यस लगत्तै काँग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेलले नेपाली काँग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङ्गे समेत गरि ३१ जनाको हस्ताक्षर सहित दावी गर्नुभएको थियो ।
त्यस्तै विश्वासको मत गुमाईसकेका मुख्यमन्त्री गुरुङले समेत जनता समाजवादी पार्टी प्रदेश समिति र पार्टीले कारवाही गरेका जनमोर्चाका सांसद कृष्ण थापाको दावी पेस गर्नुभएको थियो । गुरुङको दावी प्रति एमाले माधवकुमार नेपाल पक्षका सांसदहरुको असन्तुष्टि थियो । तर प्रदेश प्रमुखको कार्यालयले भने काँग्रेस नेता नेपालीको मात्रै दावी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ । अव नवनियुक्त मुख्यमन्त्री नेपालीले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।
शनिबार नै मुख्यमन्त्री पोखरेलले मन्त्रीपरिषद बिस्तार गर्नुभएको छ । आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरुलाई समेटेर ५ सदस्यीय मन्त्रीमण्डल बनाउनु भएको हो । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य, स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई मन्त्री नियुक्त गर्नुभएको हो । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने अझै दिईएको छैन । नवनियुक्त मुख्यमन्त्री पोखरेल सहित मन्त्रीहरुलाई शनिबार नै प्रदेश प्रमुख पौडेलले सपथ गराउनु भएको छ ।