नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । पार्टीको शनिबार बसेको पदाधिकार तथा पूर्वपदाधिकारीहरुको बैठकले महाधिवेशनको कार्यतालिकका संशोधन गर्ने निर्णय गरेको हो । संशोधित कार्यतालिका अनुसार महाधिवेशन ९ दिन पछाडी धकेलिएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी महाधिवेशन कार्यतालिका संशोधन प्रस्ताव गरिएको हो । पूर्वनिर्धारित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौं ७ देखि १० हुनुपर्ने थियो । नयाँ क्रियाशिल सदस्यता टुङ्गो लगाउन नसकेका कारण महाधिवेशनको कार्यतालिका संशोधनको प्रस्ताव भएको हो ।
पार्टीको डाटा सिस्टममा हालसम्म करिव ८ लाख क्रियाशिलको विवरण आएको छ भने कतिपय जिल्लाबाट आउनै बाँकी छ । शनिबारको बैठकमा पेस गरिएको संशोधित कार्यतालिकामा क्रियाशिल सदस्यता छानविनको म्याद असार २० गतेसम्म थप गर्ने, यस बिचमा बाँकी रहेको क्रियाशिल सदस्यता वितरण, नविकरण तथा छानविनको समेत काम सक्ने, असार २४ भित्रै समितिको प्रतिवदेन केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिसक्ने र साउनको ६ गते वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै गाउँ र नगरपालिकाको अधिवेशन साउन ११, प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशन साउन १६, प्रतिनीधि सभा क्षेत्रीय समिति र एक निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन साउन २० लाई प्रस्ताव गरिएको छ ।
एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २४ गते र प्रदेशको अधिवेशन भदौको १ र २ गते गर्न प्रस्ताव गरिएको छ । यस अनुसार केन्द्रीय महाधिवेशन भदौको १६ देखि १९ गतेसम्म गरिने छ ।
नेपाली काँग्रेसको बिधान अनुसार सुरुको ४ वर्ष र थप गरेको १ वर्षको म्याद गुज्रीसकेको छ । संविधानको व्यबस्था अनुसार लिन पाउने थप ६ महिना यहि भदौ २३ गते सकिँदैछ । भदौ २३ अगाडि नै महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन नेतृत्वलाई ठूलो दवाव छ ।