‘तिनाउ दोहनका कारण वहाब परिवर्तन : जिम्मेवारी नगरपालिकाले लिनुपर्छ’

816

‘तिनाउ दोहनका कारण वहाब परिवर्तन : जिम्मेवारी नगरपालिकाले लिनुपर्छ’

रुपन्देहीको तिनाउ र दानव नदिमा अनियन्त्रित दोहनका कारण नदिले बहाव परिवर्तन गरेको औंल्याउँदै त्यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने नेपाली काँग्रेसले बताएको छ । नेपाली काँग्रेसको आज (शुक्रबार) बसेको बुटवल नगर समितिको बैठकले मनसुनी वर्षाका कारण आएको बाढीले मिस्कट, ढुंगा गिटी, बालुवा निकालिएको ठाउँबाट क्षेती पुर्याएको हुँदा त्यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने दावी गरेको हो ।
नगर सभापति खेलराज पाण्डेको सभापतित्वमा बसेको बैठकले अप्राकृतिक रुपमा भएको नदि दोहन तत्काल बन्द गर्न र क्षती भएकाहरु तथा जोखिममा रहेकाको समेत उचित व्यबस्थापन गर्न नगरपालिकासंग आग्रह गरेको हो ।
त्यस्तैगरी कोरोना भाईरस महामारीले जनजीवन अस्तव्यस्त भएको औंल्याउँदै त्यसको समाधान खोपबाट मात्रै हुन सक्ने औंल्याउँदै खोपको व्यबस्थापन गर्न समेत स्थानीय, प्रदेश र संघीय सरकारसंग आग्रह गरिएको छ । नेपाली काँग्रेसले सिमित र लक्षीत समुह तोकि आएको खोपमा समेत व्यापक अनियमितता भएको जनगुनासो आएको उल्लेख गर्दै हालसम्म खोप लगाएको नामावली सार्वजनिक गर्न समेत नगरपालिकासंग माग गरेको छ ।
कोरोना महामारीको कारण निषेधाज्ञा गरिएको समयको पनि पानी विजुलीको विलमा जरिवाना गरिएको गुनासो आएको बताउँदै नेपाली काँग्रेसले सरकार आफैले गरेको बन्दको समयमा जरिवाना नलिन, निषेधाज्ञाका कारण खर्च सकिएर साँझ बिहानको छाक टार्न नसक्ने परिवारलाई राहतको व्यबस्था मिलाउन पनि माग गरिएको छ । बैठकबाट कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली सहित परिवारमा समवेदना र संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।