अनुदानमा फलफूलका विरुवा

432

अनुदानमा फलफूलका विरुवा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरेको छ । हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ । विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका विरुवाको लगत माग गरेकोमा सोही मागअनुसार फलफूलका विरुवामा अनुदान दिइएको जनाएको छ । नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायतका फलफूलका विरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य विरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा अभियान चलाएको तिलोत्तमा नगरपालिकाले नगर सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । सोही अनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताउनुभयो । पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उहाँले वनस्पतिजन्य विरुवा रोपणमा विभिन्न संघ संस्था, सामुदायिक वन, पार्कसँग सहकार्य गरिएको बताउनुभयो ।
फलफूलका विरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर फलफूलको उपलब्धतालाई बढाईं नगरबासीको स्वास्थ्यमा टेवा पुर्याउने भएकाले अनुदानको व्यवस्था मिलाइएको उहाँले स्पष्ट पार्नुभयो । नगर प्रमुख घिमिरेले रोपिएका विरुवाको उचित हेरचाह गर्न समेत सबैलाई आग्रह गर्नुभयो । तिलोत्तमाले सडक किनारमा वृक्षरोपण गर्ने, घरनक्सा पास गर्दा पाँच विरुवा अनिवार्य रोपणदेखि जन्म दिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गर्नेलगायतका हरियाली प्रवद्र्धनका काम गर्दै आएको छ ।