लुम्बिनीको सञ्चार विधेयक बिरुद्ध बुटवलमा प्रदर्शन

1.3K

लुम्बिनीको सञ्चार विधेयक बिरुद्ध बुटवलमा प्रदर्शन

लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक बिरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।
समाजले उक्त विधेयक फिर्ता गरेर पुनःलेखनको माग गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि बिहिबार दिउँसो प्रदर्शन गरेको हो ।
विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै प्ले–कार्ड सहित प्रदर्शन गरिएको हो । प्रदर्शन पछि समाजका केन्द्रीय सभापति गोबिन्द खनालले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संविधानको प्रस्तावना र मानव अधिकारको विश्वव्यापी घोषणापत्र विपरित रहेकाले फिर्ता गरी पुनर्लेखन गर्न माग गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले सरकार संविधान विपरीत स्वतन्त्र प्रेसमाथि अंकुश लगाएर पञ्चायतकालीन अञ्चलाधीशको शासनको पुनरावृत्ति गर्न खोजिरहेको भन्दै फिर्ता नभए पत्रकार महासंघले सशक्त आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विधेयकको ६९ देखि ८४ नम्बरसम्मका बुँदाहरु आपत्तिजनक भएकोले विधेयक फिर्ता नगरे पत्रकार महासंघ आन्दोलित हुने बताउनु भयो ।
सञ्चार परिषदको अध्यक्ष मन्त्री र सदस्यहरु अधिकांश मन्त्रालयका कर्मचारीहरु रहने गरि बनाईएको विधेयकमा पत्रकारलाई जेल सजाय र पत्रिकाको प्रकाशन बन्द गर्नसक्ने लगायतका बुँदाहरु समेत समेटिएका छन् । उक्त विधेयकको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, जिल्ला शाखाहरु र पत्रकार सम्वद्ध संघ संगठनहरुले बिरोध गर्दै आएका छन् ।