अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतहरूको सुझाव

691

अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतहरूको सुझाव

विभिन्न देशका नेपाली राजदूतहरूले विश्वमा कोभिड विरुद्धको खोपको प्रभावकारीसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनु पर्ने बताएका छन् । कोभिडको कारण लामो समयदेखि विश्वव्यापीरुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिड विरुद्धको खोपको प्रभावकारीताले पर्यटकीय गतिविधमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्ने पर्ने उनीहरुको धारणा छ ।
नेपाल पर्यटन बोर्डले आगामि वर्षको बजेट सँगसँगै विश्वव्यापी रुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्र्दभमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतहरुसँग बुधबार गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताए । बोर्डले यस अघि कोभिड महामारीबिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले छिमकी मुलुक भारत र चीन बाहेकका मुलुकहरुका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रर्वधनात्मक कार्यक्रम आयोजना गर्नु पर्ने बताउनु भयो । पूर्व अर्थमन्त्री समेत रहेका डा.खतिवडाले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ती गरी कार्यक्रम गर्न सुझाव दिनुभयो । ‘अहिले पर्यटकीय गतिविधि शुन्यप्रायः रहकोले बजेट अभाव हुनु स्वाभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्न सके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो । यस्तै उहाँले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहको जानकारी दिनुभयो ।
यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षामा ध्यान दिँदै बाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने बताउनु भयो । उहाँले पर्यटक आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिनुभयो । यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सक्रेटरी) भरत खनालले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रर्वद्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताउनु भयो । उहाँले डिजिटल तथा परम्परागत दुवै खालका प्रर्वद्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिनुभयो । यस्तै न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुलर जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरुमा बढदै गईरहको सन्र्दभमा नेपालको बारेमा सहि सूचना प्रवाह गर्न सके यसलाई निरन्तरता दिन सकिने बताउनु भयो । उहाँले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकोले त्यहाँका विशिष्ट व्यक्तिहरुलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गर्नुभयो ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तरनिकाय समन्वय र बजेटको सिमिततालाई ध्यानदिँदै बोर्डले काम गरिरहेको जानकारी दिनुयभो । उहाँले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिनुयभो । उहाँले कोभिडले गर्दा पहिले जस्तो अवस्था नभएपनि पुनरुत्थानका कार्यक्रकासाथ अघि बढ्नुको विकल्प नभएको बताउनु भयो । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ । त्यसको लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ ।’ उहाँले भन्नुभयो ।
बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको थियो । यस्तै अन्य देशका राजदूतहरुले समेत यस विषम परिस्थितीमा परम्परागत शैलिका अतिरिक्त विद्युतिय माध्यमबाट नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक सामाग्रीहरु उपलब्ध गराउन तथा नयाँ ढंगले प्रर्वद्दनात्मक काम गर्न सके नेपालको पर्यटनलाई चलायमान बनाउन सकिने धारणा राखेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सलटेन्ट टी.पी. भुसालले जानकारी दिनुभयो ।