दश बुँदे सहमतिप्रति नेपाल समुहमा असन्तुष्टि : पूर्व माओवादी समुह पर्ख र हेरको स्थितीमा

415

दश बुँदे सहमतिप्रति नेपाल समुहमा असन्तुष्टि : पूर्व माओवादी समुह पर्ख र हेरको स्थितीमा

एमाले एकताको लागि गरिएको १० बुँदे सहमति प्रति वरिष्ठ नेता माधवकुमार नेपाल समुहमा असन्तुष्टि देखिएको छ भने पूर्वमाओवादी समुह पर्ख र हेरको स्थितीमा देखिएका छन् । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल समहका दोस्रो तहका नेताहरुको कार्यदलले आईतबार साँझ मात्रै १० बुँदे सहमति गरेका थिए ।
उक्त सहमति प्रति नेता नेपालले नै असन्तुष्टि व्यक्त गर्दै २३ सांसदको हस्ताक्षर अदालमा कायम रहेको प्रतिक्रिया दिनु भएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पनि सहमतिको प्रक्रिया र विषयबस्तु दुबैमा आपत्ति जनाएका छन् ।
कार्यदल प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले बनाएकाले यसलाई सहमतिको रुपमा बुझन नहुने नेताहरुको भनाई छ । कार्यदल नेताहरु प्रति उत्तरदायी हुनुपर्ने भन्दै कार्यदलले बनाएको सहमतिको प्रस्ताव मात्रै भएको र यसलाई निर्णय मान्न नहुने उनीहरु बताउँछन् ।
उक्त प्रस्ताव दुबै नेता बसेर छलफल गर्नुपर्नेमा त्यो नगरी सहमति भनेर सार्वजनिक गरिएको प्रति उनीहरुको आपत्ती हो । त्यस्तै त्यस भित्रको कन्टेन्टमा समेत उनीहरुले आपत्ति जनाएका छन् । सहमतिको ३ नं. बुँदामा एमाले पुनस्थापित भएपछिका पार्टीको बैधानिक व्यबस्था तथा एकतासंग मेल नखाने कुनै पनि तर्फका राजनीतिक तथा संगठनात्मक स्वतः बदर भएका छन् भनिएको छ । उनीहरुको ‘…एकतासंग मेल नखाने ….’ भन्ने शब्दावली प्रति आपत्ती छ ।
त्यस्तै पूर्वमाओवादी नेताहरुले दुई नेता बिचको सहमतिलाई नजकिबाट नियालेको प्रतिक्रिया दिंदै समहति पछि नेतृत्व कसरी अगाडि बढ्छ हेर्नुपर्ने बताएका छन् । एमाले कार्यदलले आईतबार राती १० बजे सहमति गर्दै माओवादी केन्द्रबाट आएका नेताहरु नेकपामा जुन कमिटिमा थिए, त्यहि कमिटिमा निर्णय भएको थियो । यसले पूर्व माओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणी थापा र लेखराज भट्ट स्थायी कमिटि सदस्य हुनेछन् भने प्रभु शाह पासाङ् शेपा लगायतका नेताहरु केन्द्रीय सदस्य हुनेछन् । २३ फागुन यता ओलीले गरेका एकलौटी निर्णयबाट पाएका जिम्मेवारी भने खोसिनेछन् ।