प्रतिनीधि सभा (संसद) पुनःस्थापनाको स्वागतमा बुटवलमा दीपावली गरिएको छ । सर्बोच्च अदालतले संसद पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको परमादेशको स्वागत गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधव नेपाल पक्षको नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहित गठबन्धनकाले बुटवलको ट्राफिकचोकमा दीपावली गरेका हुन् ।
दीपावली कार्यक्रममा बोल्ने नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई नैतिकताको आधारमा राजीनामा गर्न सुझाव दिएका छन् । संसद पुनःस्थापनाको स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री कुलप्रसाद केसीले संसद पुनःस्थापनाले ओलीराजको अन्त्य गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई नैतिकताको आधारमा तुरुन्त राजीनामा गर्न सुझाव दिनुभयो ।

सर्बोच्चले सोमबार मध्यान्न संसद पुनःस्थापनाको फैसला गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश गरेको थियो । उक्त आदेशको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस नेता लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, जनता समाजवादी पार्टी (जसपा)का नेता यज्ञ पोखरेल, राष्ट्रिय जनमोर्चाका नेता टानबहादुर केसी, नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, माओवादी केन्द्रका नेता निर्मल जिसी लगायतले सर्बोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई नैतिकताको आधारमा तुरुन्त राजीनामा गर्न आग्रह गरेका थिए ।

संसद पुनःस्थापनाको स्वागतमा पाँच दलीय गठबन्धनले जिल्लाका बिभिन्न स्थानमा दीपावली गरेका छन् ।