गुल्मीदरवार गाउँपालिका अध्यक्ष थापाको निधन

881

गुल्मीदरवार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा बिहीबार बिहान काठमाण्डौमा मृत्यु भएको हो ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. १ का क्षेत्रीय सभापति समेत रहेका अध्यक्ष थापालाई स्वास्थ्यमा समस्या आएपछि केही महिनायता उहाँलाई काठमाण्डौं लगेर नेपाल प्रहरी अस्पतालमा उपचार गरिएको थियो । शिक्षण पेशाबाट अवकास लिएर समाजसेवा र राजनीतिमा सक्रिय ७४ वर्षीय थापा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको थियो । उहाँको शबलाई काठमाण्डौबाट शुक्रबार बिहान घर चारपालामा ल्याउने र दिउँसो जिल्ला पार्टी कार्यालय तम्घास तथा गाउँपालिकाको कार्यालय गौडाकोटमा श्रद्धाञ्जली अर्पण गरेर रिडीमा अन्तिम संस्कार गरिने काँग्रेस महाधिवेशन प्रतिनीधि श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।
उहाँको श्रीमति सहित ४ भाई छोरा छन् । १४ असार २०७४ मा भएको स्थानीय तहको चुनावबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि त्यस क्षेत्रको सडक पूर्वाधार बिकास, खानेपानी, शिक्षा, स्वास्थ्य सहित सामाजिक बिकास र जनमैत्री प्रशासनमा उहाँले पु¥याएको योगदान उल्लेखनीय रहेको स्थानीय बताउँछन् । उहाँले सरल र लोकप्रिय नेताको छवी बनाउनु भएको थियो ।