प्रदेश सभाबाट पास गर्न नसकेपछि लुम्बिनी प्रदेश सरकारले मध्येरातमा बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
मन्त्रीपरिषदले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको छ । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले गत असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको त्यस्तै अध्यादेशमार्फत ल्याइएको बताउनु भयो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि ४० अबै ९५ करोड ९७ लाख रुपैंयाको बजेट प्रदेश सभामा पेश गरेको थियो । बजेट पारित गर्नको लागि सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षले नै बजेट निर्णयार्थ पेश हुनु अगावै प्रदेश सभा बैठक बहिस्कार गरेको थियो ।
थप छलफलको लागि समय दिईएपनि सत्तापक्ष छलफलको लागि तयार नभई अध्यादेशको बाटो लिएको हो । सत्तापक्ष छलफलको लागि तयार नभएपछि प्रदेश सभाको बैठक शुक्रबार १ बजेलाई तोकिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा राती नै प्रदेश प्रमुख यादवले चालु अधिवेशन अन्त्य गरिदिनु भएको भयो ।