कपिलबस्तुको सदरमुकाम तौलिहवाबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं. २ बर्दहवा सडकमा चेकजाँचका क्रममा एउटै मोटर साईकलमा सवार कपिलबस्तु नगरपालिका वडा नं. १ नयाँटोलका अन्दाजी २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमति २४ वर्षीय प्रभावती गुप्ता र भाई २२ वर्षीय बैजुकुमार गुुप्तालाई गत बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी गराउनु भयो ।
प्रहरीको चेकजाँचका क्रममा २९ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर, नाईट्राभेट–१० दश ट्याब्लेट, वीनस्पास्मो फेर्ट १२४ क्याप्सुल बरामद गरिएको उहाँले जानकारी गराउनु भयो । प्रहरीले उनीहरु चढेर आएको भारतीय नम्बर प्लेटको युपि ५५ बि ९४३६ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
मोटरसाईकलको पछाडी सवार राकेशकी श्रीमति प्रभावतीले प्रतिवन्धित उक्त लागु औषध ब्लाउजभित्र लुकाएकी थिईन । प्रहरी चेकजाँचको क्रममा ब्लाउजभित्र लुकाएका कालो प्लाष्टिक श्रीमानलाई दिने क्रममा प्रहरीले फेला पारेको हो । पक्राउ परेका उनीहरु तीनैजना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।