दलित मानव अधिकारबारे जनप्रतिनिधिसँग अन्तरसंवाद

1.3K

दलित मानव अधिकारबारे जनप्रतिनिधिसँग अन्तरसंवाद

लुम्बिनी प्रदेशमा पनि दलित मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको भन्दै स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेहि हुनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरले शुक्रबार बुटवलमा आयोजना गरेको दलित तथा सिमान्तकृत समुदायको मानव अधिकार संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका बिषयक अन्तर संवादमा सहभागीहरुले यस्तो कुरा बताएका हुन ।
कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जातीय भेदभाव तथा छुवाछुत मानव सभ्यताकै कलंक भएकाले यसको अन्त्य विना समाज विकास हुन नसक्ने बताउनु भयो । उहाँले संरचनागत रुपमा भेदभावको श्रृखला कायम रहेकाले यसको अन्त्यका लागि प्रतिनिधित्व भएकाले अब सामथ्र्यमा ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व सांसद तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायको बाक्लो बसोबास भएको क्षेत्रमा स्थानीय सरकारको जागर नहुँदा चाहेर पनि सुधारका काम गर्न नसकिएको बताउनु भयो । उहाँले दलित तथा सिमान्तकृत समुदायको पक्षमा बजेट तथा नीति कार्यक्रम ल्याउन लुम्बिनीका अधिकांश स्थानीय तहहरु चुकेको बताउनु भयो ।
अन्तरसंवाद कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख विना राना मगरले मानवीय विकासलाई पनि उतिकै प्राथमिकतामा राखेर कार्यक्रम गरेको बताउनु भयो । उहाँले दलित समुदायले भोग्दै आएको जातीय भेदभावको समस्यालाई सम्बोधन गर्ने गरि कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले तिलोत्तमाले बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकतामा राखेर मानव मर्यादा सहितको नगर बनाउने गरि काम गरेको बताउनु भयो ।
कार्यक्रममा नागरिक आन्दोलनका अगुवा अधिवक्ता पदम कार्कीले दलित समुदायका लागि संविधानले दिएका अधिकार लिने बेला आएको बताउनु भयो । लुम्बिनी नै जातीय विभेद रहित विश्वकै पहिलो भूमि भएकाले यहिबाट विभेद अन्त्यको अभियान थाल्नुपर्ने उहाँको भनाई छ ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिका न्यायिक समितिका सदस्य अधिवक्ता दीपा सुनार, इन्सेकका प्रतिनिधि रीमा विसी, अधिकारकर्मी नरबहादुर सुनार, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देहीका अध्यक्ष टंक सुनार, जागरण मिडिया सेन्टरका विनोद परियार, अम्बिका परियार लगायतले बोल्दै दलित तथा सिमान्तकृत समुदायको मानव अधिकारको सवालमा स्थानीय सरकारले नै अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको थियो ।