लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले विश्वासको मत लिने तयारी गरिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले पार्टी निर्णय विपरित सरकारमा सहभागि भएका तीन मन्त्रीलाई कारवाही गरेको छ ।
जसपाको केन्द्रीय कार्यकारणी समितिले लुम्बिनी प्रदेशका आफ्ना सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट कारवाही गरेको हो । पार्टीको निर्णय विपरित सरकारमा सहभागि भएपछि उनीहरुलाई पार्टीले यस अगाडि पनि कारवाही गरेको थियो । तर सर्बोच्च अदालतले पुनःबहाली गर्न अन्तरिम आदेश गरेपछि उनीहरुको प्रदेश सभा सदस्य पद कायम रहेको थियो ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उनीहरुलाई पार्टीले पुनः कारवाही गरेको हो । प्रदेश सरकारमा सुमन शर्मा रायमाझी सहित ४ जना सहभागि भएपनि रायमाझीले यस अगाडि नै राज्यमन्त्री पदबाट राजिनामा गरिसक्नु भएको छ । त्यसैले रायमाझीलाई भने कारवाही नगरिएको सो पार्टीले जनाएको छ ।
पार्टीको निर्णय विपरित सरकारमा सहभागि भएका पाण्डे लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्री, कल्पना पाण्डे उद्योग बन तथा वातावरण मन्त्री र यादव भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री हुनुहन्छ ।