खसी–बोका भनेर बाख्रीको मासु बिक्रि

778

खसी–बोका भनेर बाख्रीको मासु बिक्रि

बुटवलका कतिपय मासु पसल मापदण्ड विपरित सञ्चालन हुनुको साथै अस्वस्थ्यकर मास बिक्रि वितरण हुँदै आएको भेटिएको छ । बुटवल उपमहानगरपालिकाले शुक्रबार बिहान गरेको बजार अनुगमनका क्रममा अस्वस्थ्यकर सडेको मासु राखेको पाईएको बजार अनुगमन समिति संयोजक उपमेयर गुमादेवी आचार्यले बताउनु भयो ।
अनुगमनका क्रममा त्यस्तो मासुलाई नियन्त्रणमा लिएर नष्ट गरिएको छ । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहितको अनुगमनमा बुटवलमा सञ्चालित मासु पसलमा अनुगमन गरिएको थियो ।
अनुगमनमा कतिपय पसलमा सडेको माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको उपप्रमुख आचार्यले बताउनु भयो ।
अनुगमनका क्रममा बिभिन्न ६ वटा पसलबाट करिब ८० किलो बराबरको सडेको, अस्वस्थकर माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिएको बुटवल उपमहानगरपालिका पशुपन्छी विकास शाखा प्रमुख पशु चिकित्सक झविन्द्र बञ्जाडेले बताउनु भयो । अनुगमन टोलीले ती पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन सुझाव दिएको छ ।
बुटवल–६ को बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन गरिएको थियो । त्यसमध्ये नेपालगञ्ज रोडको सद्दाम माछा एण्ड मासु पसलबाट ३८ किलो माछा र अस्पताल लाईन भुड्कीचोकमा रहेको ताहिर मासु पसलबाट २५ किलो मासु नियन्त्रणमा लिएर रोहवरमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ । ताहिरले खसी–बोका भनेर बाख्रिको मासु बेच्नेगरेको पाईएको हो ।
बुटवलको सब्जीमण्डी स्थित सटरमा अव्यवस्थित फोहोर तथा दुर्गन्ध फैलिने तरिकाले मासु पसल सञ्चालन भएको पाइएको छ । ती पसललाई स्थानान्तरण र सुधार गर्न सुझाव दिईएको छ ।