पाल्पाको बगनासकालीमा दलित समुदायका विपन्न परिवारलाई खाद्यान्न

156

पाल्पाको बगनासकालीमा दलित समुदायका विपन्न परिवारलाई खाद्यान्न

पाल्पाको बगनासकाली गाउपालीका वडा ६ यम्घा भुटुकेका दलित समुदायका विपन्न ४० परिवारलाई खाद्यान्न प्रदान गरिएको छ । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश समितिले रोजगारीको लागि आयरल्याण्मा रहेका नेपालीहरुको संस्था आयरल्याण्ड समाजको आर्थिक सहयोगमा प्रति परिवार १ बोरा चामल, ३ किलो दाल, ३ किलो चिउरा र १ किलो नुन तथा १ पोका साबुन समेत गरि खाद्यान्न प्रदान गरेको हो ।
दैनिक मजदुरी गरी गुजारा गर्दै आएका दलित समुदायका विपन्न परिवारलाई कोरोना महामारीको समयमा समस्या भएकाले मेचीमहाकाली बुहारी संयुक्त आवाज पाल्पाको सहकार्यमा खाद्यान्न वितरण गरिएको संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काले बताउनु भयो ।
खाद्यान्न वितरण गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले स्थानीय स्तरमा रोजगारीको अवसर सिजर्ना गर्न नसक्दा जनताको आर्थिक स्तर सुदृढ गर्न नसकिएको बताउनु भयो । उहाँले विपन्न वर्गको जिपिको पार्जनलाई सहज बनाउनको लागि गाउँपालिकाले वर्षेनी बजेट छुट्याएर सीप तथा आयमुलक तालिम सञ्चालन गरिएको बताउँदै त्यसलाई व्यबसायिक बनाउन के गर्नुपर्छ सुझाव दिन समेत आग्रह गर्नुभयो ।
त्यस्तैगरी गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले महिला, बालबालिका, दलित तथा अपाङ्गता भएकाहरुको लागि बिभिन्न कार्यक्रम ल्याएको बताउँदै आयआर्जन गरि आत्म निर्भर बन्न तथा शिक्षादिक्षाका लागि आफ्ना सन्तानलाई बिद्यालय पठाउन आग्रह गर्नुभयो । त्यस अवसरमा वडा नं. ६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीकी कार्यसमिति सदस्य जमुना पौडेल, मेचीमहाकाली बुहारी संयुक्त आवाज बाँकेकी सहसचिव मीना चदरा (मनिषा) लगायतले भनाई राख्नुभएको थियो ।
संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा शाखाकी संयोजक शान्ता सोमैले स्वागत र प्रदेश सहसंयोजक रेणुका खड्काले सञ्चालन गर्नुभएको थियो ।