लागुऔषध सहित बुटवलबाट तीनजना पक्राउ

1K

लागुऔषध सहित बुटवलबाट तीनजना पक्राउ

प्रतिवन्धित लागु औषध सहित प्रहरीले रुपन्देहीको बुटवलबाट तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. २ मैनावगरबाट बुटवल उपमहानगरपालिका वडा नं. ११ की मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन, सरावल गाउँपालिका ४ नवलपरासीकी ३५ वर्षीया सुभादेवी हरिजन र सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का ४२ वर्षीय प्रकाश बानियालाई प्रतिवन्धित लागु औषध सहित बिहिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले २ एमएलका सेरिज्याक ४७६ एम्पुल, नुफिन ४६२ एम्बुल, फेनारागन ४५७ एम्बुल, नाईट्रोसोन ७० ट्याब्लेट, नाईट्रोभेट ६७५ ट्याब्लेट बरामद गरेको छ । त्यस्तै उनीहरुले प्रयोग गर्ने लु ६१ प ८९६८ नम्बरको यामाहा मोटरसाईकल र ४ थान मोवाईल सेट समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
बुटवलको मैनावगरको एउटा घरमा लागुऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सानुदेवी पुनको कोठाभित्र छापा मार्दा कारोवार भईरहेको बेलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।