पत्रकार क्षेत्रीयता र भेगीयतामा विभाजित हुनुहुँदैन : अध्यक्ष पोख्रेल

1.3K

पत्रकार क्षेत्रीयता र भेगीयतामा विभाजित हुनुहुँदैन : अध्यक्ष पोख्रेल

लुम्बिनी प्रेस क्लब, भैरहवाले नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा अध्यक्ष रामराज पोखरेलसँग अन्तरक्रिया गरेको छ । शुक्रबार प्रेस क्लबको कार्यालय भएको अन्तरक्रियामा पत्रकारहरुले व्यवसायिकता र आचारसंहिता कार्यान्वयनमा जोड दिए । यस्तै, महासंघले क्षेत्रीयता हेरेर काम गर्न नहुनेमा पत्रकारहरुको जोड थियो ।
महासंघ अध्यक्ष पोखरेलले विगतमा महासंघ क्षेत्रीय रुपमा विभाजन हुन खोजेको आरोप लागे पनि आफ्नो कार्यकालमा यस्तो नहुने बताउनुभयो । उहाले भन्नुभयो, ‘पत्रकारहरु एकजुट भएर अघि बढ्नुपर्छ, क्षेत्रीयता र भेगीयतामा विभाजित हुनुहुँदैन । मेरो कार्यकालमा सबै क्षेत्र समेटिन्छन् र सबै सदस्यहरुलाई एकढिक्का भएर अघि बढ्छु ।’
महासंघ जिल्ला शाखाले मासिक रुपमा मोबाइल बैठक गर्ने र हरेक क्षेत्रमा गरिने पोखरेलले जानकारी गराउनुभयो । ‘१६ ओटै स्थानीय तहमा बैठक बस्ने छौँ’, उहाले भन्नुभयो । तालिम, नयाँ पत्रकार उत्पादन, क्षमता विकास र व्यवसायिकतामा महासंघले जोड दिने पोखरेलले बताउनुभयो ।
आफ्नो कार्यकालमा पत्रकार आचारसंहिता पालनामा कडाइ गरिने उहाले उल्लेख गर्नुभयो । कोभिड महामारीले पत्रकारहरु विस्थापित हुने अवस्था आउन नदिन महासंघले विशेष योजनासाथ काम गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो ।
प्रेस क्लब अध्यक्ष नरेश केसीले क्लब यस क्षेत्रका पत्रकारहरुको साझा संस्था भए पनि महासंघको प्रतिस्पर्धी नभएको बताउनुभयो । उहांले महासंघको हरेक गतिविधिमा प्रेस क्लबले संस्थागत सहभागिता जनाउन तयार रहेको बताउनुभयो । ‘हामीहरु क्षेत्रीयतामा विभाजित हुन चाहँदैनौं, महासंघले क्लबलाई प्रतिस्पर्धी नठानोस् । हाम्रो मातृ संस्था महासंघ नै हो’, उहाले भन्नुभे, ‘सम्मानजनक रुपमा महासंघले कार्यक्रम गरी पत्रकारलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ ।’

क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जथाभावी सदस्यता वितरण रोक्नुपर्ने जनाउनुभयो । ‘पत्रकारका आडमा हुने अबाञ्छित क्रियाकलाप र पेसालाई बदनाम गर्ने खालका गतिविधि बढेका छन्, यस्ता गतिविधि अब रोकिनुपर्छ’, ढुंगानाले भन्नुभयो, ‘व्यवसायिकतामा आँच आउने काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

क्लबका महासचिव कमल रायमाझी, कोषाध्यक्ष प्रकाश न्यौपाने, तालिम समिति संयोजक दीपेन्द्र बडुवाल, लेखा समिति संयोजक राधेश्याम विश्वकर्मा, सदस्यहरु पुनहरि बेल्बासे, दीपक घिमिरे, शोभाकान्त रेग्मी, प्रतीक पौडेल, शशि पन्थी, रवीन्द्रप्रताप गुप्तालगायतले बोल्दै पत्रकारको क्षमता विकास, सदस्यता शुद्धिकरण र आचारसंहिता पालनामा महासंघले विशेष योजनासाथ काम गर्नुपर्ने बताउनुभयो ।