मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वास प्रस्ताव फिर्ता माग गर्दै एमाले सांसद सर्बोच्चमा

1.3K

मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वास प्रस्ताव फिर्ता माग गर्दै एमाले सांसद सर्बोच्चमा

लुम्बिनी प्रदेश सभामा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरेल बिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल एमालेका सांसदहरु सर्बोच्च अदालत गएका छन् । उक्त अविश्वासको प्रस्ताव बिरुद्ध आईतबार मात्रै सर्बोच्च गएका अधिवक्ता प्रवेश केसीलाई असंबन्धित व्यक्ति रिट लिएर आएको भन्दै अदालतले दरपिठ (अस्वीकार) गरिदिएको थियो ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त मुख्यमन्त्री बिरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने र संविधानसंग बाझिनेगरी प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको र विशेष अधिवेशन आह्वान गरिएकोले सर्बोच्च जानु परेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ ।
सर्बोच्चमा प्रदेश सांसद लिला गिरीले दिएको रिट दर्ता भएको छ । आईतबार अधिवक्ता प्रवेश केसीको रिट दरपिठ भएपछि सत्तारुढ दल एमालेकै सांसद अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत गएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले यहि साउन १९ गते प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उक्त अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख अमिक शेरचनले यहि साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।