स्वदेशी ट्रक व्यबसायीले भारतीय ओभरलोडका मालबाहक ट्रक सिमामै रोकिदिए

1.3K

स्वदेशी ट्रक व्यबसायीले भारतीय ओभरलोडका मालबाहक ट्रक सिमामै रोकिदिए

क्षमता भन्दा तेब्बर लोड वोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।
भारतबाट भारबाहन क्षमता भन्दा तेब्बर लोड बोकेर आउने र ती सवारी सिधै मुलुक भरी पुग्दा नेपाली मालबाहक सवारी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाध चल्दा नेपालका मालबाहक सवारी खाली बस्नु परेको भने भारतीय ओभरलोड गाडीका कारण नेपालका सडक विग्रिने गरेको भन्दै नेपाली व्यवसायीले नाकामा भारतीय मालबाहक गाडी रोकेका हुन् ।
भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमबारदेखि रुपन्देहीको बेलहिया स्थित बाइपास सडकमा रोकिएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका मालबाहक सवारी खाली बस्नु परेको र नेपालका सडक संजाल भत्किएको भन्दै रोकिएको बताउनु भयो ।
क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ । तर, कानूनको अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेका छन् । नियामक निकाय तै चुप मै चुप भएकाले समस्या विकराल भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले बताउनु भयो । यही कारणले ट्रक यातायात व्यवसायी मर्कामा परेको उहाँको भनाई छ ।
मालबाहक सवारी साधनको भारबहन नियमन सम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर, ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन । यस्ता गाडी निर्वाध नेपालमा चल्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख दामोदर मल्लका अनुसार नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरिएको छ । ट्राफिक प्रहरीका अनुसार अधिकांश भारतीय गाडी ओभरलोड बोकेर नेपाल आउने गरेका छन् । ओभरलोड बोकेका गाडीलाई जरिवान काटेकै भरमा नेपालभर निर्वाध चल्न दिइँदा नेपाली व्यवसायी फुर्सदिला भएका छन् भने सडक पनि बिग्रिएको ट्रक व्यबसायीहरुको दावी छ ।
नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका छन् । भारतीय मालबाहक गाडीलाई जरिवानाकै भरमा नेपालमा निर्वाध चल्न दिएको छ तर नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइएको छ ।