कोरोना महामारीसँगै नेपाली पत्रकारितामा सुरक्षा चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् । समाचारका बिषयमा पत्रकारहरुमाथि हुने भौतिक असुरक्षासँगै कोरोनाले सञ्चार माध्यम नै संकटमा पर्दा पत्रकारहरुको पेशागत सुरक्षा थप चुनौतीपूर्ण बनेको उनीहरुको भनाई छ ।
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले आईतबार बुटवलमा आयोजना गरेको फ्रि मिडिया नेटवर्कको पैरवी रणनिति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशामा कोरोनासँगै नयाँ नयाँ चुनौतीहरु थपिएको बताइएका हुन् ।
सञ्चार माध्यमको दीगोपनामा निकै ठूलो चुनौती देखा परेकाले यसले पत्रकारहरुको भविष्य नै असुरक्षित बनाइदिएको पत्रकार सम्बद्ध व्यक्तिहरुको चिन्ता थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य रमा अर्यालले पत्रकारिता क्षेत्रको खबरदारीले सुशासनयुक्त समाज निर्माण गर्न सहयोग गरेको भन्दै सञ्चारगृह र पत्रकारहरुलाई संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारको भौतिक र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले ल्याएको सञ्चार ऐनका सन्दर्भममा आफूहरु त्यसलाई संशोधन गर्न तयार रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले कोरोनाले सञ्चारगृह र पत्रकार निकै नराम्रोसँग प्रभावित भएको बताउँदै तीनै तहका सरकारले सञ्चारगृहहरुको संरक्षणमा ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पञ्चायतकालमा सञ्चारगृह प्रतिबन्धित भएपनि सरकारी संयन्त्र मिडियामैत्री रहेको बताउँदै तर, अहिले जनप्रतिनिधिलाई चुनेर पठाएको बेला सञ्चारगृहले कुनै पनि सेवा सुविधा नपाएको गुनासो गर्नुभयो ।
महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा पूर्व सांसद विनोद पहाडीले प्रेस स्वतन्त्रताको वकालत गरेपनि सूर्ती उद्योगले जती पनि सुविधा नपाएको भन्दै सरकार नेपाली मिडियाप्रती उदासिन बनेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुईटेलले नेपाली पत्रकारिता पत्रकारिताले ग्रामिण भेगको समाचार अझै प्रकाशमा ल्याउन नसकेको औंल्याउनु भयो । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारले समेत आचार संहिता पालना गर्नुपर्ने भन्दै पेशागत सुरक्षाका सवालमा सबै चिन्तित हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीका उपसचिव सन्तोष आचार्य, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिृकत विष्णु ज्ञवाली, इन्टरनेशनल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्री, बुटवल उपमहानगरपालिका वडा न. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रदीप आचार्य, प्रेस संगठन लुम्बिनीका सहसंयोजक गुनाराम घिमिरे, पत्रकार इन्दिरा आर्याल, बुटवल उद्योग बाणिज्य संघका सदस्य टिकाराम बन्जाडे लगायतले बोल्दै पत्रकारितालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस अवसरमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत निराजन नेपालीले फ्रि मिडिया नेटवर्कको उपयोगिताका बारेमा जानकारी गराउनु भयएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता भएको कार्यक्रम मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मिना शर्माको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा भएको थियो ।