लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित

203

लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताउनु भयो । यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिइने बताउनु भयो ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको पत्रअनुसार सत्य तथ्य बुझेर प्रशासनिक प्रकृया शुरु भइसकेको बताउनु भयो ।नेकपा विभाजनपछि गत बैशाख १९ गते माओवादी केन्द्र रोजेकी बिमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ खबाट निर्वाचित हुनु भएको थियो । वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।

सूर्य चिह्नबाट चुनाव जितेका शाही हाल केसी नेतृत्वको सरकारमा मन्त्री छन् । हृदयेश त्रिपाठी समूहका उहाँले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै आएका छन् ।