भारतीय ओभरलोड ट्रकका कारण नेपाली व्यबसायी मारमा : आन्दोलनको चेतावनी

430

भारतीय ओभरलोड ट्रकका कारण नेपाली व्यबसायी मारमा : आन्दोलनको चेतावनी
सरकारले समायोजन गरेको भाडा असुलीमा भारतीय ओभरलोड ट्रक बाधक भएको निश्कर्ष सहित ट्रक व्यबसायीले त्यसका बिरुद्ध आन्दोलन चर्काउन चेतावनी दिएका छन् । भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात  व्यवसायीको पेशा संकटमा परेको भन्दै सरकारले पटक पटक अनुरोध गरेपनि सुनुवाई नभएको भन्दै ट्रक व्यबसायीले आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात ब्यवसायी समिति र ढुवानी समितिले शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने र त्यसो नगरे ओभरलोड बोकेका भारतीय ट्रक नेपाल छिर्न नदिने चेतावनी दिएका हुन् ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागि भाडादर तोकेपनि ओभर लोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको जिकिर गर्नु भयो । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीय ट्रकसंग प्रतिष्प्रर्धा गर्न नसकेको उहाँको भनाई छ । बिभिन्न तहमा रहेको सरकारी अधिकारीहरुको सेटिङमा ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्र्याई रहेको व्यबसायीहरुको आरोप छ ।
करिव ७ वर्षयता सरकारले असार २९ गते निर्णय गर्दै नेपालका बिभिन्न ६१ स्थानका लागि मालबाहक सवारीको भाडादर समायोजन गरिदिएको थियो । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउदै ब्यवसायीले सिमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।
देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिने गरेको गुनासो उनीहरुको छ । कानुन सबैलाई समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग राख्दै आएपनि अहिलेसम्म यसको व्यबस्थापन हुन सकेको छैन ।
ट्रक ब्यवसायीहरुले नेपालको २ प्रमुख नाका बिरगंज र भैरहवा नाकालाई लक्षित गरि ओभरलोड नियन्त्रण गर्ने राणनिति अगाडी बढाउने बताएका छन् । नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भारतबाट आउने ठूला प्रकृतिका समानलाई केही नगरेपनि पल्टि गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभरलोड नियन्त्रण गर्न सकिने बताउनु भयो ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” उल्लेख छ ।
नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् ।
नेपाल ट्रक यातायात ब्यवसायी समिति लुम्बिनी प्रदेश यसको नियन्त्रणमा कडाईका साथ लाग्ने समितिका अध्यक्ष यमप्रसाद पाण्डले बताउनु भयो । उहाँले ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए त्यस्ता ट्रकको बिमा संस्थाले नब्यर्होने र समितिवाट गाडीको खारेज गर्ने सम्मको कदम चालिने चेतावनी दिनु भयो ।
पत्रकार सम्मेलनमा लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल पश्चिमाञ्चल यातायात व्यवसायी समितीका महासचिव जीतबहादुर भाट, ढुवानी व्यवसायी समिती रुपन्देहीका अध्यक्ष श्यामबहादुर हमाल र व्यवसायीहरुले सरकारले समायोजन गरेको भाडा लागु गर्नको लागि पनि भारतीय गाडीको ओभरलोड नियन्त्रण जरुरी रहेकोे बताउनु भएको थियो ।