लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ४२ सांसदले दिए विश्वासको मत

344

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ४२ सांसदले दिए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनुभएको छ । मुख्यमन्त्री केसीले नवौं अधिवेशनको सोमबार बसेको दोस्रो बैठकमा विश्वासको मत लिनु भएको हो ।
मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र १ जना स्वतन्त्र सहित ४२ सांसदले विश्वासको मत दिएका हुन् । नवौं अधिवेशनको पहिलो बैठकमै विश्वासको मत लिने सरकारको तयारी भएपनि प्रमुख विपक्षी दल एमालेको अवरोध पछि छलफलको लागि केही समय दिएर दोस्रो बैठक आह्वान भएको थियो ।
सोमबार अपरान्ह बसेको दोस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनुभएको हो । यद्यपी प्रदेश सांसदहरु अजय शाही र विमला वलीलाई कारवाहीको माग गर्दै संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो बैठक बहिस्कार गरेको थियो ।
प्रमुख विपक्षी दल एमालेले सुर्य चिन्ह लिएर स्वतन्त्र राजनीतिक समुहबाट प्रदेश सभामा निर्वाचित अजय शाही र उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित सांसद वली एमालेका सांसद रहेको दावी गर्दै सांसद पदमुक्त गर्न माग गरेको थियो । उनीहरुलाई कारवाही नहुँदासम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी दिएपछि सरकारले मार्सल लगाएर भएपनि विश्वासको मत लिने बताएपछि एमाले पछि हटेको हो । यदि उनीहरु दुई जना सांसदलाई कारवाही गरेमा सरकारको अंकगणित फेरिने भएपछि एमालेले उनीहरुको कारवाहीलाई जोडतोडले उठाएको हो ।


एमालेले उनीहरु दुई जना सासंदलाई कारवाहीको माग गरेपनि सभामुख पूर्णबहादुर घर्तीले कारवाही गर्न नमिल्ने जानकारी गराईसक्नु भएको थियो । तर एमालेले भने उनीहरुलाई कारवाही हुनैपर्ने अडान राखि संसद अवरोध गर्दै आएको थियो ।
प्रदेश सरकारका विनाविभागीय मन्त्री समेत रहेका शाहीले सुर्य चिन्ह लिएपनि स्वतन्त्र भूमिका रहने समहति सहित आफू स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित भएको र एमालेको सदस्यता समेत नलिएकाले आफूलाई एमालेले कारवाही गर्न नसक्ने बताउँदै आउनु भएको छ भने तत्कालिन नेकपाबाट निर्वाचित सांसद वलीले सर्बोच्चले एमाले र माओवादी केन्द्र व्यूताईदिएपछि माओवादी केन्द्र रोजेकाले एमालेले कारवाही गर्न नमिल्ने बताउनु भएको छ ।