बिहान ११ बजे बस्ने भनीएको नेकपा एमालेको स्थायी कमिटि बैठक सरेको छ । अध्यक्ष केपि ओलीले पार्टी एकताको लागि १० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरेपछि आज बिहान ११ बजेलाई स्थायी कमिटिको बैठक तय गरिएको थियो । बिहान ११ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै दिउँसो ३ बजेलाई सारिएको हो ।
माधव नेपालले छुट्टै पार्टी खोलेपछि उक्त पार्टीमा नगएका र त्यस अगाडीसम्म नेता नेपाललाई साथ दिँदै आएको दोस्रो तहका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभए आफूहरुले पनि बिद्रोह गर्ने अल्टिमेटम दिएपछि अध्यक्ष ओलीले समहति कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सोही अनुसार आज ११ बजेलाई बैठक बोलाईएको थियो । तर तयारी पुरा नभएको भन्दै ३ बजेलाई सारिएको छ ।
च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने बैठकले १० बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुले बताएका छन् । यद्यपी उक्त बैठकमा नेकपा (एकिकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएका माधव नेपाल पक्ष भने सहभागि नहुने भएको छ ।
उतीबेला अध्यक्ष ओली पक्षका ५ जना र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ जना रहेको समितिले १० बुँदे सहमति गरेको थियो । सोही अनुसार नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए ।
उक्त सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली सहमति विथोलिने गरि अभिव्यक्ति दिएपछि नेता नेपालले निर्वाचन आयोगमा आफ्नो नेतृत्वमा नेकपा (एकिकृत समाजवादी)को नामा छुट्टै पार्टी दर्ताको निवेदन दिनुभएको छ ।