महासंघद्वारा भैरहवाका पत्रकारसँग अन्तरक्रिया

1.3K

महासंघद्वारा भैरहवाका पत्रकारसँग अन्तरक्रिया

नेपाल पत्रकार महासंघ रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारहरुसँग कोरोना महामारीले पत्रकारितामा पारेको असर र महासंघले गर्नुपर्ने भूमिकाका सन्दर्भमा सुझाव संकलन कार्यक्रम गरेको छ । नियमित बैठकका शिलशिलामा भैरहवा पुगेको बेला महासंघले भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा क्रियाशिल पत्रकारहरुसँग छलफल तथा भेटघाट कार्यक्रम गरेको हो । उक्त अवसरमा अग्रज पत्रकार नारायण सापकोटाले पत्रकार महासंघको बर्तमान नेतृत्वले सबैपक्षसँग रायसुझाव लिएर अघि बढ्न खोजेको भन्दै यो सक्रियता कार्यकाल अवधिभर कायम राख्न सुझाव दिनुभयो ।
उहाँले पत्रकार महासंघले पेशागत हकहितसँगै पत्रकारिताको गरिमा बढाउने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अर्का अग्रज पत्रकार चेतन पन्तले अब प्रविधिको युग भएकाले त्यसलाई मध्यनजर गरि पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ लुुम्बिनीका सदस्य रामविकास चौधरी, विन्दुकुमार चौहान, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, प्रेस संगठन रुपन्देहीका अध्यक्ष कमल रायमाझी, नेपाल प्रेस यूनियन रुपन्देहीका उपसभापती दीपक घिमिरे, कान्तिपुर दैनिक लुम्बिनी प्रमुख दीपेन्द्र बडुवाल, पत्रकारहरु सम्झना शर्मा, विजय पाण्डे लगायतले बोल्दै महासंघले भैरहवामा बैठक गरेर साझा चरित्रका रुपमा उभ्याएको बताएका थिए ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकार महासंघले सबै रायसुझावका आधारमा बार्षिक कार्ययोजना बनाएको बताउँदै भेगीय, क्षेत्रीय र आस्थाका आधारमा विभाजित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यत्रलममा पत्रकार महासंघका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।