नेपाली काँग्रेसको १४ औं महाविधेशन कार्यतालिका अनुसार भोली (शुक्रबार) वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनको लागि केन्द्रले खटाएका निर्वाचन अधिकृतहरु जिल्लामा आएर त्यसको तयारी गरिरहेका छन् ।
सोही अनुसार भोली नै रुपन्देहीमा पनि १५५ वडाको अधिवेशन हुँदैछ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले रुपन्देही जिल्लामा अधिवक्ता भेषराज घिमिरेलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ । रुपन्देही जिल्लाका १५५ वटै वडा अधिवेशनको तयारी गरेको छ । पार्टीले सोही अनुसारको तयारी गरेको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराउनु भयो । रुपन्देही जिल्लाका १५५ वडामा नियुक्त गरिएका १५५ जना मतदान अधिकृतहरुलाई शुक्रबार वरिन्टेसन गरि वडामा पठाईने जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो ।
‘उहाँहरुलाई आजै वरिन्टेशन गरिने छ ।’ जिल्ला निर्वाचन अधिकृत घिमिरेले भन्नुभयो– ‘उहाँहरु आजै सभापतिहरुलाई सम्पर्क गरेर वडामा जानुहुनेछ ।’ मतदान अधिकृतलाई आवश्यक पर्ने जनशक्ति भने वडाबाट स्वयम सेवकको रुपमा पार्टीले उपलब्ध गराउने उहाँले बताउनु भयो । रुपन्देही जिल्लाका १६ स्थानीय तहका १५५ वडामा करिव २२ हजार क्रियाशिल सदस्य छन् ।
वडा अधिवेशनको लागि नेपाली काँग्रेस रुपन्देही बुधबार मात्रै वडा सभापतिहरु, नगर तथा क्षेत्रीय सभापतिहरुलाई पार्टीको बिधान, निर्वाचन निर्देशिका लगायतका बिषयमा प्रशिक्षण समेत गरेको थियो । वडामा निर्वाचित सभापति र क्षेत्रीय प्रतिनीधिहरुले पालिका तथा जिल्लामा नेतृत्व चयन गर्ने भएकाले काँग्रेसको वडा अधिवेशनमार्फत आफू निकटका उम्मेदवार जिताउन नेताहरु क्रियाशिल भएका छन् । त्यसैले पनि काँग्रेसको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।