जनसंख्या र क्रियाशिल सदस्यको हिसावले रुपन्देहीको सबैभन्दा ठूलो बुटवलको वडा नं. ११ मा नेपाली काँग्रेसको दुई पक्षिय प्रतिपर्धा हुने देखिएको छ । वडा अधिवेशनको तयारी भईरहेको रुपन्देही जिल्लाको बुटवल ११ मा जीतबहादुर मल्ल र दुर्गाबहादुर खत्रीले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर सभापतिमा आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा वडा सभापतिमा उम्मेदवारी घोषणा गर्दै जीतबहादुर मल्लले आफु पार्टीको कुनै गुट र लवीमा भन्दा पनि जिल्लामा सबैभन्दा कमजोर उक्त वडामा पार्टीलाई ससक्त रुपमा अगाडि बढाउन सभापतिमा पदमा उम्मेदवारी दिन लागेको बताउनु भयो । ‘वडा नं. ११ का कतिपय ठाउँमा अहिले पनि काँग्रेस खोजेर भेटिन्न, ती टोलहरुमा पनि पार्टीलाई ससक्त बनाउने छु ।’ उहाँले भन्नुभयो–‘राजनीतिमा नयाँ र पुरानो भन्दा पनि कसले पार्टीलाई ससक्त र बलियो बनाउन सक्छ, बिचार दिन सक्छ त्यसलाई रोज्न क्रियाशिल सदस्यहरुलाई आग्रह गर्दछु ।’

संगठन बिस्तार गरेर पार्टीलाई मजवुद बनाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले आफू वडा सभापति पदको लागि ससक्त उम्मेदवार भएकोले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । यस अगाडि बुधबार मात्रै मौजुदा समितिका सचिव दुर्गाबहादुर खत्रीले पत्रकार सम्मेलन गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा नयाँ पुराना गरि ७५३ जना क्रियाशिल सदस्य रहेको सभापति चित्रबहादुर बर्माले बताउनु भयो ।