हामी किन काँग्रेस ?

768

हामी किन काँग्रेस ?

अधिवक्ता बिमलराज भट्टराई /

जेठो दल प्रजापरिषद्ले जनतालाई प्रजातान्त्रिक चेतना जगाउने काम गर्यो । यसका राजनीतिक गतिविधिबाट आत्तिएर तत्कालिन राणा शासकले सन् १९९७ मा सहिद पर्व मच्चाए । शहिदहरूको इतिहास मर्म आम जनतामा स्थापित भयो । समयानुकूल आफूलाई परिवर्तन गर्न र जनचाहना अनुसार हिँड्न नसक्दा प्रजापरिषद् इतिहासको पानामा सीमित हुन पुग्यो । त्यसको प्रतिफल २००३ को राष्ट्रिय कांग्रेस र २००५ सालको प्रजातन्त्र कांग्रेस मिलेर २००६ सालमा बनेको नेपाली कांग्रेसले पनि स्थापनाका ७३ वर्षको लोकतान्त्रिक यात्रा पार गरिसकेको छ । आधुनिक नेपालको निर्माण, प्रजातन्त्र प्राप्ति र पुनःप्राप्तिका लागि कांग्रेसले जुन नीति, मूल्यमान्यता र आदर्श स्थापित गरेको छ, त्यो अन्य दलले गर्न सकेका छैनन् । एक बाम धेरै ठाम कम्निष्ठ पार्टीहरू टुटफुटले चलेका छन् । त्यसैले सिंगो कांग्रेस राष्ट्रिय राजनीतिको मूल धुरी एवं जनताको आशा र भरोसाको केन्द्र बनेको हो ।
कांग्रेस विचारमा बीपी कोइराला, धनमा सुवर्ण शमशेर, कूटनीति र आचरणमा सूर्यप्रसाद उपाध्याय, दृढनिश्चयी गणेशमान सिंह, निष्ठाको राजनीतिप्रति प्रतिवद्ध र सात्विक जीवनशैलीका धनी कृष्णप्रसाद भट्टराई र क्रान्तिकारी चरित्र र गतिशील व्यक्तित्वका धनी गिरिजाप्रसाद कोइरालाको संगम सुशील कोईरालाको संविधान निर्माणमा कुशलता अहिलेसम्म नेपालमा देखा परेको छैन, सायद भविष्यमा पनि यो अपेक्षा गर्न पनि गाह्रो छ ।
अन्य राजनीतिक दर्शन एवं विचारधारा बोक्ने झापा आन्दोलनबाट चर्चामा आएका माक्र्सवादी, लेनिनवादी कम्युनिष्ट साथीहरू र बन्दुकको नालबाट परिवर्तन गर्न सकिन्छ, ब्यालेटबाट होइन भन्ने हिंसावादी साथीहरू मात्र होइन जातीयता एवं क्षेत्रीयताको आधारमा राजनीति गर्ने मधेसवादी दल पनि यतिबेला कांग्रेसकै लोकतन्त्र र संसदीय शासन प्रणालीको मान्यतामा आएका छन् । यस अगाडिको तत्कालिन नेकपाको सरकार र शासनसत्तामा भएको हालिमुहाली पनि कांग्रेसकै सिद्धान्तको उपज हो र यहीं बाटोमा छन् । यिनै बिचार र अग्रजको आदर्शमा आकर्षण रहेकोले हामी काँग्रेस हौं । जनता माझ अनुहार देखिदैन । किन लजाएका हाम्रा जनप्रतिनिधिहरू जनतासँग संवाद गर्न । अन्य देशमा कानुनी शासनको बलियो जगमा उभिएका जननिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री नै जनतामा जान अधि सरेको देखिन्छ । उनीहरूले छेउमा विज्ञ (कर्मचारी, डाक्टर वा वैज्ञानिक) राख्छन् र विज्ञता चाहिने प्रश्नको उत्तर दिन लगाउँछन् तर जनतासँगको संवादको संयोजन, अग्रसरता र नेतृत्व निर्वाचितले नै लिन्छन् । उनीहरूले समाजलाई तत्कालै परेको आवश्यकता पूर्ति गर्ने कानुन लेखेर गर्छन् ।
हामीले सिक्न जरूरी छ, अर्थात् कानुन लेख्नु भनेको समाजमा देखिएका समस्या समाधान गर्ने दस्तावेज तयार पार्नु हो । कानुन लेखेर मुलुकको नेतृत्व दिने एकै मात्र थलो संसद् हो । त्यसको अर्थ पूरै जिम्मा संसद्कै मात्र भन्ने हैन । सरकारले आफ्ना महत्वपूर्ण निर्णयहरूलाई संसदमै लैजाने, छलफल र अनुमोदन गराउने अनि संसद्ले पनि सरकारको हरेक कार्यको निगरानी राख्ने, छानबिन गर्ने र नागरिकलाई परेको समस्या समाधान गर्न कानुन लेखिदिने । त्यो दोहोरो सम्बन्धकै लागि हामीले निर्वाचनबाट सांसद चुनेका हौ ? संसद् विघटन वा पुनःस्थापनाबारे हाम्रा आ–आफ्ना विचार होलान् तर जनताको जीवनस्तर सुधार्न लिइने निर्णयस्थल संसद् नै हुनुपर्छ । तर निर्णय सबै संसद बाहिर गर्ने अनि दोष संसदीय व्यबस्थालाई दिन हुन्छ र ? बेलायतमा महत्वपूर्ण मुद्दा देख्ने बित्तिकै सरकारले संसद् बोलाई हाल्छ । प्रश्न हामी शासन कसरी गर्छौं ? भन्ने कुराले हाम्रो लोकतान्त्रिक अभ्यास जनतामा लोकप्रिय हुन सक्छ बेलैमा सोच्न जरूरी छ । सोफोकल्सले भनेका छन्– ‘छलकपट वा आत्मसमर्पण गरेर सफल हुनुभन्दा सम्मान सहित विफल हुनु श्रेयष्कर हुन्छ ।’
हरेक राजनीतिक केन्द्र र राजनिति व्यवस्थाका आफ्नै मान्यता, नियम, लय, आदर्श र सुन्दरता भएझैँ संसदीय राजनीतिका पनि आफ्नै मौलिकता र विशिष्टता छन् । कम्युनिष्टतन्त्र, राजतन्त्र, सैनिकतन्त्र, फासीतन्त्र, धर्मतन्त्र सबैका चरित्र र अभ्यास फरक छन् । देश विकासको महान अभियानमा समस्त देशवासीलाई सबल नेतृत्व प्रदान गरी कांग्रेस सरकारको उदयमा देशले नयाँ नयाँ काचुली फेर्दै आएको छ । सदा हामी उद्योगी एवं व्यापारीहरू निजी क्षेत्र पनि देश विकासको पुनीत कार्यमा पंक्तिवद्ध भएर कठोर परिश्रमका साथ संलग्न रहेकाछौं । देश बिकासमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण छ । आफ्नै माटोको मौलिक सिद्धान्त भएको यी सबै कारणले हामी कांग्रेस हौं । जय नेपाल ।

(लेखक नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति हुनुहुन्छ ।)