सत्ता समिकरणमा रहेका दलहरुसंग प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नामावली माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्ता समिकरणमा रहेका दलहरुको शिर्ष बैठकमा प्रधामन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गर्नुभएको हो ।
मन्त्रीपरिषद गठनमा ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाले आफ्नो आफ्नो दलबाट मन्त्री पठाउनेहरुको नाम छिटो टुङ्ग्याएर पठाउन आग्रह गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उपस्थित हुनुहुन्थ्यो ।
गत असार २९ मा प्रधानमन्त्री बन्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूसंगै अरु चार मन्त्री र पछि एक राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । सत्ता समिकरणमा रहेका दलहरुले मन्त्री पठाउन ढिलाई गरेका कारण करिव २ महिनासम्म पनि मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन ।