एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको संयोजकमा कबिन्द्र नेपाललाई चयन गरिएको छ । समुह १२ बुटवलको शनिबार भएको ३२ औं साधारण सभा तथा परिषद बैठकले नेपालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको सहसंयोजकमा पूर्णबहादुर ज्ञवाली, सचिवमा बिमल बस्नेत, कोषाध्यक्षमा हरिप्रसाद गौतम तथा सदस्यहरुमा मधुकर घिमिरे, उदयराज भट्टराई, खेमानन्द पाठक, सपना रेग्मी (लम्साल) र बाबुराम न्यौपानेलाई सर्वसम्मत चयन गरिएको छ ।
साधारण सभा तथा परिषद बैठकको उद्घाटन गर्दै समुहका पूर्व संयोजक तथा राजनीतिकर्मी रामचन्द्र ढकालले आस्थाका बन्दी रिहाई र नेपालको द्वन्द्वकालिन समयमा एम्नेष्टीले खेलेको भूमिकाको चर्चा गर्नुभयो । मानवअधिकारको परिभाषा एउटै हुनुपर्नेमा जोड दिँदै उहाँले विश्वव्यापी सञ्जाल भएको एम्नेष्टीको काम र यसको गरिमा पनि उच्च भएको बताउनु भयो ।
त्यस अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व महासचिव तथा समुहका पूर्व संयोजक करुण खनालले मावनधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको छुट्टै पहिचान र महत्व रहेको भनाई राख्नुभयो । समुहकी संयोजक शरीता भारीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा सल्लाहकार शालिकराम वञ्जाडे, छिमेकी समुहका संयोजकहरु महेन्द्र खनाल, जानकी नेपाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा समुहका सचिव बिमल बस्नेत र कोषाध्यक्ष पूर्णबहादुर ज्ञवालीले प्रस्तुत गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।