काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोली पालिका अधिवेशन हुँदै : रुपन्देहीमा के छ अवस्था ?

525

काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोली पालिका अधिवेशन हुँदै : रुपन्देहीमा के छ अवस्था ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा अधिवेशन सकिएका जिल्लामा भोली शनिबार पालिका अधिवेशन हुँदैछ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ स्थानीय तहमा सोही अनुसार भोली पालिका अधिवेशन हुँदैछ ।
पार्टीको केन्द्रमा देखिएको दुई धार जिल्ला तथा पालिकामा पनि प्रष्टसंग देखिएको छ । पार्टीको केन्द्रमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा दुई धार भएजस्तै भोली हुन लागेको पालिका अधिवेशनमा पनि दुई धार देखिएको हो । रुपन्देहीमा एक उपमहानगरपालिका र ५ वटा नगरपालिका तथा १० वटा गाउँपालिका गरि १६ स्थानीय तह छन् । त्यसमध्ये अधिकांश स्थानमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको देउवा ईतर समुहबाट छुट्टा छुट्टै उम्मेदवारी घोषणा भएको छ ।
पूर्वपश्चिम र उत्तरदक्षिणको संगम मानिएको बुटवल उपमहानगरपालिकामा पार्टीको नेतृत्व लिन सभापति देउवा समुहबाट रीता केसी र वरिष्ठ नेता पौडेल समुहबाट खेलराज पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । पाण्डे यस अगाडि पनि नगर सभापति हुनुहुन्छ ।
त्यस्तैगरी जिल्लाको मध्येभागमा पर्ने पार्टीका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा तीन जनाको दावेदारी देखिएको छ । त्यस नगरपालिकामा देउवा समुहबाट हरिलाल पाण्डे र पौडेल समुहबाट नारायण न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । तिलोत्तमा नगरपालिकामा पार्टीको नेतृत्व लिनको लागि अर्का हरि तिवारी पनि चुनावी अभियानमा भिड्नु भएको छ । देउवा समुहबाट उम्मेदवारी घोषणा गरेका पाण्डेले तिलोत्तमामा पार्टीको एक कार्यकाल सभापति भई काम गरिसक्नु भएको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका (भैरहवा)मा सभापति देउवा समुहबाट कोशिष खड्का र पौडेल समुहबाट सञ्जिवराज रेग्मीले उम्मेदवारी घोषणा गरि चुनावी मैदानमा हुनु हुन्छ । त्यस्तै सैनामैना नगरपालिकामा पौडेल समुहबाट कृष्ण पोखरेल र देउवा समुहबाट रणबहादुर खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस अगाडिको स्थानीय तहको निर्वाचनमा एक मात्रै नगरपालिकामा जीत हात पारेको देवदह नगरपालिकामा पौडेल समुहबाट गुणाखर भुर्तेल र देउवा समुहबाट झविन्द्र पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने यस अगाडिकै सभापति मोह्मद सहित खाँको एकल उम्मेदवारी देखिएको छ । १० गाउँपालिका रहेको रुपन्देही जिल्लाको ओमसतीया, गैडहवा, कञ्चन, मर्चवारी, सम्मरीमाई र कोटहीमाईमा सर्वसम्मत बनाउने प्रयास भएको बताईएको छ । त्यस्तै सियारी सुद्धोधन, मायाँदेवी र रोहिणीमा भने सभापति देउवा र वरिष्ठ नेता पौडेल समुहबाट उम्मेदवारी घोषणा भएको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले १५५ वडामध्ये ९० प्रतिशत वडामा सर्वसम्मत भएको र पालिकामा पनि सकेसम्म सर्वसम्मत गराउन नेतृत्व लागिपरेको जानकारी गराउनु भयो । यद्यपी सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सकेन भने पनि निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने उहाँले बताउनु भयो । अधिवेशनलाई निश्पक्ष बनाउन आफू लागि परेको बताउँदै उहाँले अधिवेशनमा जसले जीतेपनि हारेपनि सबैले जितको महसुस गर्नुपर्ने र सबैलाई मिलेर अगाडि बढ्न सुझाव दिनुभयो ।