सुनचाँदी व्यवसायी समितिमा नयाँ नेतृत्व : सुनको आपूर्तिलाई सहज बनाउन माग

346

सुनचाँदी व्यवसायी समितिमा नयाँ नेतृत्व : सुनको आपूर्तिलाई सहज बनाउन माग

बुटवल सुनचादी व्यवसायी समितिको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ । सोमबार बुटवलमा आयोजित संघको साधारण सभा तथा पदस्थापन कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
संघको गत फागुनमा प्रथम अधिवेशन सम्पन्न भएपनि कोरोना महामारीका कारण पदस्थापन कार्यक्रम रोकिएको थियो । संघले पहिलो र दोस्रो साधारण सभा एकै साथ गर्दै सोही अवसरमा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको हो ।
संघको प्रथम अधिवेशनबाट अध्यक्षमा गकुल विश्वकर्मा, उपाध्यक्षमा मिलन सुनार, सचिवमा चुरामणी विश्वकर्मा, कोषाध्यक्षमा अवतार मल्ल, सहसचिवमा कृष्णबहादुर सुनार र सहकोषाध्यक्षमा दलबहादुर बिक (राजु) निर्वाचित हुनुभएको थियो । त्यस्तै कार्यसमिति सदस्यहरुमा हरि गहतराज, प्रदिप बिक, सरोजकुमार बिक, ईन्द्रबहादुर बिक, दिलिपकुमार सुनार, बलबहादुर बिक, अमृत बेवारे, प्रेमबहादुर सुनार र ऋषिराम रसाली निर्वाचित हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै व्यबसायीहरुले सुन खरिदमा व्यबस्था गरिएको कोटा प्रणाली हटाएर आपूर्तिलाई सहज बनाउन सरकारसंग माग गरेका छन् । सुनचाँदी व्यवसायीले बर्षोदेखि कानुनी र नितिगत समस्यासँगै प्राविधिक कठिनाई भोग्दै आएकाले त्यसको समाधानमा सरकारलाई गम्भिर बन्नुपर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवासायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनको अभावले व्यवसायीहरुले महंगोमा कालोबजारीमा सुन किन्नुपरेको बताउनु भयो उहाँले राष्ट्र बैंकसँग यस बिषयमा महासंघका तर्फबाट पहल पनि भइरहेको जानकारी गराउनु भयो ।


कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रेमकुमार सेन्चुरी, बुटवल उपमहानगर वडा न. ५ का वडाअध्यक्ष तेजकुमार सुनार, केन्द्रीय सदस्य एमवि विश्वकर्मा, बुटवल उपद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मदन कुँवर, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्मा, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणी विश्वकर्मा, लगायतले बोल्दै व्यवसायिक हक र अधिकारका लागि सबै पक्ष गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए ।
त्यस अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै बुटवल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष एंव व्यवसायी दीपक विश्वकर्माले सुनको माग अनुसार आपूर्ती नहुँदा कालोबजारी मौलाएको बताउँदै सुनको कोटा नै खारेज गर्नुपर्ने बताउनु भयो । संघले साधरणसभाको अवसरमा बुटवलका पूराना सुनचाँदी व्यवयायी गोविन्द विश्वकर्मा, ज्योतिलाल विश्वकर्मा, उमाखर विश्वकर्मालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।